लकडाउनले किसान बर्बाद: भारतबाट तरकारी भित्र्याइयो, देशका जनताको तरकारी कुहिन छाडियो !

–काशीराम शर्मा
बाँके – कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेको छ । हुने खानेलाई पनि साँझ बिहान खानको जोहो गर्न मुस्किल पर्न थालिसकेको छ । किसानले उत्पादन गरेका कृषि वस्तु थन्क्याउन समस्या परेको छ ।

यहाँ उत्पादित तरकारी भने बिक्री नभएपछि बारीमै कुहिन थालेको छ बन्दाबन्दी लम्बिदैजाँदा यहाँका किसानको बारीमा लगाएको तरकारी बिक्री नभएपछि बारीमै कुहिन थालेको हो । बन्दाबन्दीका कारण बारीमा लगाएको तरकारी बिक्री नहुँदा किसान चिन्तित छन् । बारीमा लगाएको ७० प्रतिशत तरकारी बारीमै कुहिएको छ ।

बिक्री नभएर बारीमै तरकारी कुहिएपछि नष्ट गर्नुको विकल्प नभएको किसान बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरका किसानले उत्पादन गरेको बन्दा बिक्री नभएपछि नष्ट गरेका छन् । बाली विकास कृषक समूहले १० बिगाह क्षेत्रमा लगाएको बन्दा बारीमै कुहिएपछि तरकारी बेचेर गुजारा गर्दै आएका किसान चिन्तित बनेका छन् ।

जैसपुरमा उनीहरुले २० बिगाहमा तरकारी खेती गर्दै आएका किसानले १० बिगाह क्षेत्रफलमा बन्दा लगाएका थिए । समूहको एक हजार क्विन्टल बन्दा खेतमा छ, जो सबै कुहिने अवस्थामा छन् । “ रु १० लाख लगानी गरेका किसानले बन्दा बिक्री गरेर रु २० लाख आम्दानी हुने अनुमान थियो”, समूहका कोषाध्यक्ष महयादिन कवडिया बताउँछन्।

उनका अनुसार उत्पादित बन्दाले बजार पाउन नसकेपछि नष्ट गर्नुपर्ने बाध्यता भयो । उनले बुटवल, सुर्खेत, कोहलपुर, खजुरा र नेपालगञ्जका सब्जी मण्डीमा तरकारी पुर्याउन नसकेको बताए। “बन्दा बिक्री गर्नका लागि निकै पहल भयो, तर माग नै आउँदैन”, उनले भने, “बन्दा बिक्री गर्न लैजाँदा अवरोध भएपछि निरास भएका छौँ ।”

बाली विकास कृषक समूहमा १५ जना सदस्य छन् । आफूहरुले कृषि पेशाबाटै परिवारको गुजारा गर्दै आएको समूहका सदस्य मुनिर अहमद राईले बताए। “बन्दाबन्दीले हाम्रो बिचल्ली बनायो । चाउमिन, मःम पसललगायत नास्ता पसल तथा होटेल पूर्णरुपमा बन्द भएपछि मागमा शून्य छ”, सदस्य राईले भने।

बन्दा तरकारीका रुपमा भन्दा बढी चाउमिन, मःम र पकौडामा प्रयोग बढी हुने गर्छ । सदस्य राईका अनुसार बन्दाबन्दीका कारण नास्ता पसल तथा होटेल पूर्णरुपमा बन्द भएपछि उत्पादन भएको बन्दा बारीमै नष्ट गर्नुपरेको छ । जयसपुरका किसानले २० बिघामध्ये १० बिघामा मकै, साग, भान्टा, गोलभेँडा, खुर्सानी, लौका, काँक्रालगायतका खेती गरेका छन् ।

“हाम्रो त बर्बाद नै भयौ, बन्दा बारीमै कुहियो । यस्तो अवस्थामा सरकारले हाम्रो समस्यालाई सम्बोधन गर्नुपर्ने हो । बिक्री गर्ने समयमा बारीमै कुहिनपछि हाम्रो बिचल्ली भयो”, समूहका सदस्य राईले भने। भारतबाट नियमित रुपमा तरकारी नेपाल भित्रिए पनि आफूले उत्पादन गरेको तरकारी खेतमै कुहाउनुपर्ने अवस्था आएको उनको गुनासो छ ।

बाँकेको खजुरा गाउँपालिका–२ का किसान लालबहादुर खत्री भारतबाट तरकारी भित्रिँदा यहाँका किसानलाई प्रत्यक्ष असर परिरहेको बताए। उनले आफ्नो बारीमा उत्पादन गरेको गोलभेँडा उपभोक्तासम्म पुर्याउन नसकेको गुनासो गरे। “खेतमै एक ठाउँमा टिपेर राखेका गोलभेँडा बिक्री गर्न कहाँ लैजाने भन्ने नै चुनौती छ”, किसान खत्रीले भने।

गाउँगाउँसम्म भारतीय तरकारी पुग्ने गरेको बताउँदै उनले भने, “बजारमा लैजाँदा भारतीय तरकारी भरिभराउ छ । बिक्री गर्ने स्थान पनि छैन । तरकारीमा औषधि पनि छर्कन सकिरहेका छैनौँ । दश कट्ठामा लगाइएको करेला फल्ने बेला औषधिको अभावले मरेको छ । बन्दाबन्दीपछि तरकारी बिक्री शून्यमा झरेको छ ।”

खजुरा ‘बी’ गाउँका किसान पदमबहादुर रानाले बन्दाबन्दीअघि दुई दिनको अन्तरमा झण्डै १२ क्विन्टलसम्म काँक्रा बिक्रीका लागि नेपालगञ्ज पठाउने गरे पनि अहिले बिक्री हुन छाडेको बताए। उनले भने, “बिक्री ह्वात्तै घट्यो ।” बिक्री नभएपछि काँक्रा बारीमै कुहिने अवस्थामा पुगेको किसान रानाले बताए।

उनले उत्पादन भएको तरकारी सहज रुपमा बिक्री गर्न समस्या हुँदा किसान मारमा परेको बताए। बन्दाबन्दीका कारण तरकारी बिक्रीका लागि सवारी साधन पाउन मुस्किल हुने र पाए पनि अत्यन्तै महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेकाले लगानीसमेत उठाउन गाह्रो भएको जानकी गाउँपालिकाका किसान सुरेन्द्र खड्काले बताए।

जिल्लाभर पुग्ने तरकारी बाँकेमै अहिले उत्पादन भइरहेको किसानको दाबी छ । तर, तरकारी बिक्री नहुँदा गाईभैँसी तथा बङ्गुरलाई खुवाउनुपर्ने बाध्यता रहेको किसान बताउँछन् । उनका अनुसार गाउँमा उत्पादित कृषिजन्य वस्तु बिक्री वितरणका लागि स्थानीय सरकारले चासो नदिँदा किसान चिन्तित बनेका छन् ।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७१०:०९

आफू फेरी पनि मन्त्री बन्ने बाँस्कोटाको दावी: “जनताले माया गरेका छन्, पुनः मन्त्री बन्छु”