काठमाडौँ – मंगलबार थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा रौतहटमा रहेका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
कोरोना पुष्टि भएकाहरुमा वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का दुई पुरुष रहेका छन्। स्वास्थ्य कार्यालय रौतहटका अनुसार कोरोना पुष्टि भएहरु २४ र ३५ वर्षका छन्।
प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका वृन्दावन नगरपालिकाका संक्रमित युवकको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको बताइएको छ। उनी चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्किएका थिए। उनी कलकत्ताबाट नेपाल आएका थिए।
यस्तै कोरोना पुष्टि भएका अर्का पुरुष देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् । बताइएअनुसार, उनी भारतको राजधानी दिल्लीबाट नेपाल आएका थिए।
कोरोना पुष्टि भएका दुवै जना देशमा लकडाउन घोषणा भैसकेपछि नेपाल आएको बुझिएको छ। उनीहरु दुवै जना लकडाउन कार्यान्वयन भएपछि चो-रबाटो हुँदै भारतबाट नेपाल प्रवेश गरेको खुल्न आएको छ।
वृन्दावन नगरपालिकाका संक्रमित युवक क्वारेन्टाइनबाट छुटिसकेको हुँदा उनको खोजिमा प्रहरी जुटेको छ।