कोरोना पुष्टि भएका व्यक्ति १० दिन अगाडीनै गाउँ फर्केको खुलासा, पूरै गाउँ सिल गर्ने तयारी !

काठमाडौँ – प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका युवकमा कोरोनाको पुष्टि भएपछि रौतहटको वृन्दावन नगरपालिकालाई सिल गर्ने तयारी गरिएको छ।

जनकपुरमा नेगेटिभ देखिएका वृन्दावन नगरपालिकाका संक्रमित युवकको स्वाब काठमाडौँ स्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि संक्रमित क्षेत्र सिल गर्न लागिएको हो। उक्त क्षेत्रमा उनीबाट अन्य व्यक्तिहरुमा पनि कोरोना सरेको हुन सक्ने अनुमान गरिएको छ।

वृन्दावन नगरपालिका ९ भुसहाका २४ वर्षीय ती पुरुष चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्किएका थिए। उनी घर फर्किएको १० दिन पछि कोरोना पुष्टि भएसँगै उक्त क्षेत्रमा कोरोना फैलिएको हुन सक्ने चिन्ता बढेको छ। कोरोना संक्रमित क्वारेन्टाइनबाट छुटेर घर पुगेको १० दिन बितिसकेको हुँदा उक्त क्षेत्रलाई सिल गरेर र्यापिड परिक्षण गर्ने तयारी गरिएको छ।

यस्तै मंगलबारनै देवाही गोनाही नगरपालिकाको वडा नम्बर १ का एक युवकमा पनि कोरोनाको पुष्टि भएको छ। उनको पनि जनकपुरमा नेगेटिभ आएको थियो। उनी देवाही गोनाहीको धरहरीस्थित क्वारेन्टाइनमा रहेका थिए। उनलाई वीरगंज पठाउने तयारी भइरहेको देवाही गोनाही नगरपालिकाले जनाएको छ।

प्राप्त जानकारी अनुसार कोरोना पुष्टि भएका दुवै एरियालाई सील गर्ने तयारी भइरहेको छ। काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा दुवैमा कोरोना संक्रमणको पुष्टि भैसकेको बारे मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझको नियमित पत्रकार सम्मेलनमा जानकारी दिने बताइएको छ।

प्रकाशित : मङ्गलबार, बैशाख १६, २०७७०८:४५

जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे सुरेन्द्र यादव सहितका नेता !