काठमाडौँ – भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या हजार नाघेको छ। बितेको २४ घण्टामा हाल सम्मकै उच्च मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या हजार नाघेको हो।
बुधबार बिहान सम्म त्यहाँ १ हजार ८ जनाको ज्यान गैसकेको छ। बितेको २४ घण्टामा मात्रै त्यहाँ ६९ जनाको ज्यान गएको छ। यो संख्या हाल सम्मकै उच्च हो। यस भन्दा अगाडी एकै दिन यतिको संख्यामा कसैको पनि ज्यान गएको थिएन।
बुधबार सम्म भारतमा संक्रमितको संख्या ३१ हजार नाघेर ३१ हजार ३ सय २४ पुगेको छ। बितेको २४ घण्टामा त्यहाँ १ हजार ८ सय ७३ संक्रमित थपिएका छन्। जसमध्ये ७ हजार ७ सय ४७ संक्रमित निको भएर घर फर्किसकेका छन्।
यस्तै कोरोनाबाट सबै भन्दा बढी पिडित अमेरिकामा संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ५९ हजार २ सय २२ पुगेको छ। बितेको २४ घण्टामा त्यहाँ २ हजार ४ सय ७० जनाको ज्यान गएको छ।
विश्वभर संक्रमितको संख्या ३१ लाख ३६ हजार नाघेको छ। हाल सम्म विश्वभर २ लाख १७ हजार ८ सय १३ जनाको ज्यान गएको छ। कुल संक्रमित मध्ये ९ लाख ५३ हजार भन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन्।