काठमाडौँ – बुधबार तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट बुधबार तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
कोरोना पुष्टि भएकाहरु मध्ये दुई जना बारा र एक जना वीरगन्जका रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार, कोरोना पुष्टि भएका तीनै जना भारतबाट आएका हुन्। उनीहरु वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट आएको बताइएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। नेपालमा अहिले सम्म १६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
यस अगाडी मंगलबार मात्र रौतहटका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। मंगलबार कोरोना पुष्टि भएकाहरुको नारायणी अस्पतालमा उपचार भैरहेको छ।
बुधबार पुष्टि भएकाहरुलाई पनि सोहि अस्पतालमा लैजाने तयारी गरिएको छ।
तेस्रो परीक्षण नतिजा पनि पोजेटिभ
चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो ।
ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत हुनुहुन्छ । उनमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका २७ वर्षीय छोरा भने निको भइसकेका छन् ।
आमाछोरा दुवैको कोरोना सङ्क्रमणसँगै पुष्टि भएको थियो । उनीहरु चैत ३ गते बेलायतबाट नेपाल आएर काठमाडौँबाट ५ गते चितवन आएका थिए । राप्ती नगरपालिका–८ निवासी दुई जनाकै कन्ट्रयाक्ट ट्रेसिङ गरी अन्यको कोरोना परीक्षण गरिएको थियो तर, कसैमा पनि कोरोना सङ्क्रमण देखिएन ।
यस्तै वैशाख १५ गते नै गरिएको अन्य २२ परीक्षणको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।