अन्तिम भिडियो सन्देशमा मेरो प्रतिक्षा गर्नुहोला भनेका थिए, तर बिदा भएर गए…[भिडियो सहित]

एजेन्सी – बलिउड अभिनेता इरफान खानको निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको इरफानको बुधबार निधन भएको हो। ५४ वर्षको अल्पायुमै इरफानको निधन भएपछि अहिले पूरै बलिउड जगत शोकमा छ।

इरफान न्यूरोएन्डोक्राइन ट्यूमर ग्रसित भएपछि उपचारको लागि सन् २०१८ मा अमेरिका गएका थिए। ट्यूमरको उपचार पश्चात सन् २०१९मा उनी भारत फर्किएका थिए। खराब स्वास्थ्यका बीच पनि उनले ‘अंग्रेजी मीडियम’को शूटिंग सम्पन्न गराएका थिए। बुधबार निधन भएपछि अब ‘अंग्रेजी मीडियम’नै उनको अन्तिम चलचित्र बन्ने भएको छ।

शूटिंग सम्पन्न गराएपनि उनी चलचित्रको प्रमोशनमा उपस्थित हुन भने सकेका थिएनन्। जसकारण उनले चलचित्रको प्रमोशनमा सहभागी हुन नसकेको बारे बोल्दै आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी गराएका थिए। इरफानद्वारा जारी उक्त भिडियो सन्देश एकदमै भावनात्मक थियो। जसमा उनले आफू केहि स्वास्थ्य समस्यासंग लडिरहेको र जित्ने आशा रहेको बताएका थिए। उनले आफ्ना समर्थकलाई कुर्न आग्रह पनि गरेका थिए।

“नमस्कार, म इरफान ! म आज तपाईको साथमा हुन पनि सक्छु नहुन पनि सक्छु। जे भएपनि, यो फिल्म ‘अंग्रेजी मीडियम’ मेरो लागि धेरै विशेष छ।”,उनले उक्त सन्देशमा भनेका थिए,”मेरो शरीर भित्र रहेका अनावश्यक अतिथिहरूसँग वार्तालाप भइरहेको छ। हेरौं वार्तालाप कहाँ सम्म पुग्छ।”

आफ्नो स्वास्थ्य अवस्था तर्फ इंकित गर्दै उनले जारी गरेको उक्त सन्देशमा उनले आफ्नो अन्तिम बन्न सक्ने चलचित्र ‘अंग्रेजी मीडियम’ हेर्न सबैमा आग्रह गरेका थिए।

प्रकाशित : बुधबार, बैशाख १७, २०७७०९:४१

‘लब यु…भाई’ भन्दै शाहरुखले इरफानलाई लेखे यस्तो मनछुने स्टाटस!