बुधबार चारमा सङ्क्रमण, ५८ पुगे सङ्क्रमित !

काठमाडौँ – सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।

उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उनका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।

आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए । सङ्क्रमितको नजिक रहेका कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।

तेस्रो परीक्षण नतिजा पनि पोजेटिभ
चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो ।

ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत हुनुहुन्छ । उनमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका २७ वर्षीय छोरा भने निको भइसकेका छन् ।

आमाछोरा दुवैको कोरोना सङ्क्रमणसँगै पुष्टि भएको थियो । उनीहरु चैत ३ गते बेलायतबाट नेपाल आएर काठमाडौँबाट ५ गते चितवन आएका थिए । राप्ती नगरपालिका–८ निवासी दुई जनाकै कन्ट्रयाक्ट ट्रेसिङ गरी अन्यको कोरोना परीक्षण गरिएको थियो तर, कसैमा पनि कोरोना सङ्क्रमण देखिएन ।

यस्तै वैशाख १५ गते नै गरिएको अन्य २२ परीक्षणको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

प्रकाशित : बुधबार, बैशाख १७, २०७७०८:१४

अमेरिकामा ज्यान गुमाउने नेपालीको संख्या बढ्दै, न्यूयोर्कमा मात्र दर्जनको मृत्यु !