शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा एक वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । शिवराज –४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज ६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सुरक्षावापतको रु १२ हजार चोरी गरी फरार थिए ।
मियाँले पैसा चोरेको चन्द्रौटास्थित गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो ।
मियाँ यही वैशाख १४ गते रकम चोरेर फरार भएका थिए । अभियुक्तलाई वडा प्रहरी कार्यालयमा राखिएको छ ।
राहत कार्यक्रम माग
नेपालगञ्ज उद्योग वाणिज्य संघले कोभिड–१९ का कारण उद्योगव्यवसायमा पर्न गएको प्रभाव मूल्याङ्कन गर्दै राहत कार्यक्रम घोषणा गर्न सरकारसंँग माग गरेको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बुधबार बसेको संघको बैठकले क्षतिका आधारमा वर्गीकरण गरी राहत कार्यक्रम घोषणा गर्न माग गरेको हो ।
बैठकले बन्द भएका उद्योग र व्यावसायिक संस्थालाई २०७६ चैतदेखि २०७७ असार मसान्तसम्म बैंक ब्याज मिनाहा गर्नेलगायत माग गरेको अध्यक्ष मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै विद्युत् कार्यालयले लिने डिमाण्ड शुल्क उद्योगलाई मिनाहा गर्न सरकारसँग माग गरिएको छ ।