सिलिन्डर पड्किँदा तीन घाइते, सिभिल अस्पताल मीनभवानमा उपचार हुँदै !

काठमाडौँ – काठमाडौँ महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् ।

स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

गएराति भएको उक्त घटनाका घाइतेको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य दुई घाइतेको पहिचान खुलेको छैन ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार सिलिन्डर पड्किँदा पसल नजिकै रहेको बा७१प ७४१ नंको स्कुटर जलेर नष्ट भएको भएको छ ।

यसैबीच राति नै काठमाडौँ महानगरपालिका–६ सिमलटारमा रोकिराखेको बा८८प४५ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा क्षति पुगेको छ । स्थानीयवासीले समयमै आगो निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

रेबिजविरुद्धको खोप सेवा जारी

कोभिड–१९ को ‘हब’ अस्पतालका रुपमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक १०० को हाराहारीमा रेबिजविरुद्धको खोप लगाउन बिरामी आइरहेका छन् ।

जनावरको टोकाइपछि लगाउने सो खोप सेवालाई सो अस्पतालले नियमित जारी राखेको छ । सोे उपचार अन्य अस्पतालबाट गर्न सहज नभएकाले यहीँबाट भइरहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए । अस्पतालले यहीँ सानो स्थान यसका लागि छुट्याएको छ । उनले भने, “त्यहीँ आएर बिरामीले सेवा लिइरहनुभएको छ ।”

अस्पतालमा गत मङ्गलबार ८५ जना सो सेवा लिन आएका थिए । ‘लकडाउन’ जारी भएपछि रेबिजविरुद्धको खोप लगाउनेको सङ्ख्या यसैका हाराहारीमा रहेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा अस्पतालमा दैनिक झण्डै ३०० जना खोप लगाउन आउने गरेकामा पछिल्लो समयमा त्यो सङ्ख्या तीन गुणा कम भएको छ । पहिले काठमाडौँ उपत्यका बाहिर टाढा–टाढाबाट समेत सेवाग्राही आउने गरेकामा अहिले त्यो कम छ । यहाँ अहिले आउने अधिकांश सेवाग्राही उपत्यका र धादिङ, काभ्रे, मकवानपुरलगायत उपत्यका नजिकका जिल्लाका छन् । उनले भने, “अहिले धेरैजसो उपत्यका बाहिरका जिल्लाबाट आएको पाइँदैन ।”

प्रकाशित : बिहिबार, बैशाख १८, २०७७०९:२०

पार्टीगत स्वार्थभन्दा माथि उठ्न महामन्त्री डा कोइरालाद्वारा आह्वान