काठमाडौँ – लकडाउनका कारण काठमाडौँमा अड्किएका आफ्ना क्षेत्रका बासिन्दालाई काठमाडौँमै आएर राहत वितरण गरेको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले काठमाडौँमा रहेका आफ्ना क्षेत्रका बासिन्दालाई राजधानीमै आएर राहत वितरण गरेको हो।
मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जाँदा लकडाउन उलंघन भई कोरोना संक्रमणको जोखिम बढ्ने हुँदा काठमाडौँमा रहेकाहरुलाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
वैशाख २ गते गाउँपालिकाले काठमाडौंमा रहेका आफ्नो क्षेत्रका स्थायी बासिन्दालाई सम्पर्कका लागि निकालिएको सूचनापछि १५ सय २५ घरधुरीले फारम भरेको आधारमा राहत व्यवस्था गरिएको बताइएको छ।
गाउँपालिकाले परिवार संख्याको आधारमा राहत वितरण गरिएको छ। एक जना मात्रै भएकालाई १० किलो चामल, दाल, गेडागुडी, तेल, नुन, दुई जना भएकालाई १८ किलो चामल, ३ जना भएकालाई २५ किलो चामल, ४ वा ४ भन्दा बढी भएकालाई ३० किलो चामल र त्यही अनुपातको दाल, गेडागुडी, तेल र नुन वितरण गरिएको छ।
राजधानीमा रहने आफ्नो क्षेत्रका बासिन्दाहरुलाई ७ टोलि बनाएर ठाउँ-ठाउँमा पुगी राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठको भनाई छ।
यसरी राहत बाँड्न २७ लाख ४० हजार रुपैयाँ खर्च भएको बताइएको छ। लकडाउन अझ थपिए दोस्रो चरणको पनि राहत वितरण गर्ने गाउँपालिकाको तयारी छ।