डोटी – जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् । एकाएक उच्च ज्वरो खाएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए।
उनले भने, “उच्च ज्वरो आएपछि उहाँलाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका थियौँ, उहाँको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ छ, मृत्यु भएकोे कारणबारे थप बुझदैछौँ ।” मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ ।
कोरोना विशेष अस्पतालमा आइसोलेसनकक्षको सेवा शुरु
छिमेकी जिल्ला रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा १० दिनमा निर्मित कोरोना विशेष अस्पतालमा आइसोलेसनकक्ष सञ्चालनमा आएको छ ।
सो कक्षको बिहीबार उद्घाटन कार्यक्रममा टेलिफोनबाट मन्तव्य दिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सांसद् जनार्दन शर्मा ‘प्रभाकर’ ले जिल्लाका स्थानीय तहले कोरोनाको महामारीविरुद्ध लड्न गरेको प्रयासको प्रशंसा गर्दै विपत्तिसँग जुध्न रुकुमबाट एउटा अभियान शुरु भएको बताए।
सङ्घीय सरकार र प्रदेश सरकारको नजर नपुगेको विकट ठाउँमा पनि १० दिनमै सुविधायुक्त अस्पताल निर्माण गरेर नगरपालिकाले प्रशंसनीय काम गरेको उनको भनाइ छ । देशका सबै पालिकाले यसरी नै तदारुकताका साथ भौतिक संरचना निर्माणलाई तीव्रता दिएपछि समृद्धि टाढा नभएको उनले बताए।
उनले श्रम सहकारीमार्फत जिल्लाका आठविसकोट, चौरजहारी र मुसिकोट नगरपालिकाले कोरोना भाइरसविरुद्ध लड्न आइसोलेसन निर्माण गरेको बताए। यहाँले जिल्लाका कुनै पनि स्थानीय तहमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिने भन्दै स्वास्थ्यको क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएर अघि बढ्ने दाबी गरे।
जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले १० दिनमै आठकोठाको सुविधायुक्त कोरोना विशेष अस्पताल आइसोलेसन निर्माण गरेको भन्दै प्रशंसा गरे। उनले विपत्तिको सामना गर्न नगरपालिकाले एउटा गतिलो हतियार तयारी पारेको भन्दै सबैले नगरपालिकाले देशकै उदाहरणीय काम गरेको दाबी गरे।