काठमाडौँ – नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। शुक्रबार नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका हुन्।
रूपन्देही निवासी २४ वर्षका पुरुष र नेपालगंज, बाँके निवासी ६० वर्षजक पुरुषमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार दुवै जनाको अवस्था सामान्य छ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५९ पुगेको छ।
प्रदेश १ का जिल्ला अस्पतालमा पिपिइ अपुग
प्रदेश नं १ का जिल्ला अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) अपुग भएको छ ।
ती जिल्लाका मेडिकल सुपरीटेन्डेन्ट (मेसु)हरुले प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग बिहीबार साँझको भिडियो संवादमा उक्त समस्या अवगत गराएका हुन् ।
प्रदेश सरकारबाट प्राप्त पिपिइ पर्याप्त नभएको र स्थानीयस्तरबाट व्यवस्थापन भएको पिपिइ सकिएकोे उनीहरुको गुनासो छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको अवस्थामा पिपिइको अभावले उपचार कार्यका समस्या उत्पन्न हुने उनीहरुले बताएका छन् । उनीहरुले प्रदेश सरकारले तत्काल पिपिइको व्यवस्था गर्न माग गरेका छन् ।
मेसुहरुले अस्पतालमा आकस्मिक, फिवर क्लिनिकसँगै नियमित सेवा पनि सञ्चालनमा रहेको बताउँदै विकास समितिबाट नियुक्त भएका र करारका स्वास्थ्यकर्मीलाई प्रदेश सरकारबाट प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् । इलाम जिल्ला अस्पतालका मेसु डा प्रमोद साहले पिपिइको अभावका बीच आफूहरुले सेवा दिइरहेको बताए । उनले विदेशलगायत अन्य जिल्लाबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै कोभिड–१९ का लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको बताए ।
पाँचथर जिल्ला अस्पतालका मेसु डा बुद्धिबहादुर थापाले पिपिइ, एन–९५ मास्क अभाव भएको चर्चा गर्दै आवश्यक जनशक्ति र बजेटको अभाव भएको सुनाए। ताप्लेजुङ अस्पतालका मेसु डा सनि लामाले अस्पतालमा दरबन्दी कम भएको बताउँदै अन्य जिल्ला अस्पतालसरह सेवा दिए पनि दरबन्दी कम भएको गुनासो गरे। जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले कोभिड–१९ को व्यवस्थापनका लागि दैनिक काम भइरहेको बताए ।