एजेन्सी – बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लीङ ब्राउट हालान्डले युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्ना लागि प्रेरणादायक व्यक्तित्व भएको बताएका छन्। एक खेलकुद मिडियासँग कुराकानी गर्दै हालान्डले क्रिस्टियानो रोनाल्डो आफ्नो लागि धेरै समय देखि आदर्श खेलाडी रहेको बताएका हुन्।
हरेक खेलमा क्रिस्टियानोमा गोलको भोक देखिने र उनले आफू उत्कृष्ट रहेको हरेक खेलमा प्रमाणित गर्दै आएको हालान्डको भनाई छ। बाल्यकाल देखि नै क्रिस्टियानोलाई पछ्याएको उनी बताउँछन्। “उनी हरेक खेलमा समर्पित र भोको देखिन्छन्।”,उनले अन्तर्वार्तामा भनेका छन्।
केहि महिना अगाडी नेयमार सहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडीले ‘योगा गोल सेलेब्रेसन’ गर्दै खिल्ली उडाएको विषयमा पनि हालान्डले उक्त अन्तर्वार्तामा टिप्पणी गरेका छन्।
“योग-ध्यान तर्फ विश्वको ध्यान केन्द्रित गरिदिएकोमा म उनीहरुलाई धन्यवाद दिन चाहन्छु। योग-ध्यानको कति महत्वपूर्ण छ भन्ने कुरा विश्वलाई बुझाउन सहयोग पुग्यो।”,अन्तर्वार्तामा उनले भनेका छन्। नेयमार सहित अन्य खेलाडीहरुले ‘योगा गोल सेलेब्रेसन’ गर्दै आफ्नो खुल्ली उडाएको विषयलाई उनी सहजै खारेज गर्छन्।
विश्व फुटबल जगतमा हालान्ड आकर्षणको केन्द्र बनिरहेका छन्। उनलाई भविष्यका ठूला स्टारको रुपमा चर्चा गर्न थालिएको छ । हुन त, उनको खेल लयले पनि यस्तै छाँट-काँट देखाएको छ। अस्ट्रियाको साल्जबर्ग क्लब देखि नै उत्कृष्ट लयमा रहेका उनी बोरुसिया डर्टमुन्डमा पनि उत्तिकै जमेका छन्। डर्टमुन्डबाट खेलेका ११ खेलमा उनले १२ गोल गरिसकेका छन्।
हालान्डले आफूमा हरेक दिन सुधार भैरहेको पनि सुनाएका छन्। उत्कृष्ट खेलाडीहरु संग खेल्न पाउँदा खेलमा सुधार गर्ने मौका र पाठ मिल्ने उनको बुझाई छ।