‘मार्च १ पछि कोरोनाभाइरस सङ्क्रमणका कारण दर्जनौँ पत्रकारको मृत्यु’

सांकेतिक तस्विर

जेनेभा – गत दुई महिनामा कोरोनाभाइरस (कोभिड–१९) बाट दर्जनौं पत्रकारको मृत्यु भएको एक प्रेस स्वतन्त्रताका लागि सक्रिय संगठनले शुक्रवार बताएको छ । सञ्चारकर्र्मीहरूलाई प्रायः महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित संरक्षणको अभाव रहेको उक्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जानकारी गराएको छ ।

आगामी आइतबार परेको विश्व प्रेस स्वतन्त्रता दिवसको अगाडि प्रेस अभियान (पीईसी) ले धेरै पत्रकारहरूले आफ्नो जीवनको पर्वाह नगरी समाचार सङ्कलन गर्नुपर्दा यसबाट ठूलो सङ्ख्यामा पत्रकार सङ्क्रमित हुनु परेको बताएको छ ।

पीईसीका अनुसार मार्च १ पछि मृत्यु भएका विश्वका विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा सङ्क्रमण भेटिएको छ । यद्यपि उनीहरुको कामकै शिलशिलामा सङ्क्रमण भएको पुष्टि भने नभएको पीईसीले जनाएको छ ।

“पत्रकारहरूले समाचार सङ्कलनका क्रममा अस्पतालमा जाँदा, वा डाक्टर, नर्स, राजनीतिक नेता, विशेषज्ञ, वैज्ञानिक, बिरामीहरूसँग अन्तर्वार्ता लिनुपर्दा उनीहरूलाई यस विश्वव्यापी महामारीका समय ठूलो जोखिम रहेको छ,” पीईसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकोपको शुरूमा कैयौँ देशहरुमा सामाजिक तथा शारीरिक दूरी कायम गर्ने, क्वारेन्टाइनमा बस्ने र मास्क लगाउने निर्देशनजस्तो ‘अनिवार्य सुरक्षात्मक उपाय’ लागू हुन नसकेको विज्ञप्तिमा बताइएको छ ।

पीईसीले भनेको छ, “यसरी पत्रकार बढी प्रभावित बन्ने मुलुकमा इक्वेडर अग्रस्थानमा रहेको छ । यहाँ कम्तिमा नौ जना पत्रकार भाइरसको सिकार बन्न पुगेका छन् । त्यस्तै संयुक्त राज्य अमेरिकामा आठ, ब्राजिलमा चार, बेलायतमा र स्पेनमा क्रमशः तीन जना मृत पत्रकारमा सङ्क्रमणको पुष्टि भएको थियो । ”

विश्वव्यापी रूपमा सङ्क्रमित ३२ लाखभन्दा बढीमा सङ्क्रमित बनेको र दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको यस महामारीलाई लेख्ने कतिपय मुलुकका सञ्चारमाध्यम नै प्रशासनको तारो बन्ने गरेको संयुक्त राष्ट्रसंघका चेतावनीहरूलाई उल्लेख गर्दै यस संस्थाले बताएको छ ।

“सेन्सरशिप, इन्टरनेट बन्द, मनमानीरूपमा पत्रकारहरूलाई हिरासतमा राख्ने, शारीरिक र मौखिक हमला, आपतकालीन कानून हालका हप्ताहरूमा प्रेस स्वतन्त्रतामा प्रतिबन्ध लगाउने अभ्यासहरू कतिपय मुलुकले गरेको भन्दै पीईसीले खेद व्यक्त गरेको छ ।

विश्वसनीय सार्वजनिक जानकारीको पहुँच पहिलेभन्दा बढी महामारीको समय महत्वपूर्ण रहने भएपनि प्रेस स्वतन्त्रतामाथि नै आक्रमण हुनु खासगरी चिन्ताको विषय भएको पीईसीले जनाएको छ । पीईसीले पारदर्शिता सर्वोपरी रहेको र यसको प्रयोगले स्वास्थ्य सङ्कटमा नागरिकको जीवन बचाउन सकिनेमा जोड दिएको छ ।

प्रकाशित : शुक्रबार, बैशाख १९, २०७७१६:३९

ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी, सात घर जलेर नष्ट !