काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको विवाद मिलाउन शिर्ष नेताहरु आन्तरिक छलफलमा जुटेपनि सहमति हुन सकेको छैन । प्रधानमन्त्रीको राजिनामा माग गरेपछि उत्पन्न भएको राजनीतिक संकट हल गर्न सचिवालय बैठक बोलाइएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि नेताहरु छलफलमा जुटेका हुन् । सचिवालयका ९ सदस्यमध्ये प्रधानमन्त्री ओली पक्षमा चार जना खुलेका छन् । उपाध्यक्ष गौतमले समेत पछिल्लो पटक प्रधानमन्त्रीको प्रस्तावलाई सकरात्मक रुपमा लिएपछि उनको भूमिका नै शनिवारको सचिवालय बैठकमा निर्णायक हुने देखिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ एउटा समुहमा रहेका छन् । सोही समुहमा रहेका गौतमले प्रधानमन्त्रीले ठोस योजना ल्याए आफु तयार रहेको बताइसकेका छन् ।
प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावपछि बामदेव छलफलमा, आफ्नो समुहको साथ छाड्ने प्रचण्ड–नेपालको आशंका
ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर नेपाललाई बनाउने योजनामा रहेका प्रचण्डलाई उपाध्यक्ष गौतमले साथ दिने÷नदिनेमा नेकपाको निर्णय टिकेको छ । बुधबार बसेको सचिवालय बैठकमा ओलीको प्रस्तावमा महासचिव विष्णु पौडेल, ईश्वर पोखरेलले सहमति जनाएका थिए भने रामबहादुर थापाले प्रधानमन्त्रीको राजिनामा माग्न नहुने धारणा राखेका थिए । जसले गर्दा गौतम नेकपामा पुनः एक पटक निर्णायक शक्तिका रुपमा देखिएका छन् ।
प्रधानमन्त्रीको प्रस्तावमा गौतमले राजनीतिक र कानुनी परामर्श समेत गरिसकेका छन् । उनले शनिवारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव ठोस रुपमा प्रस्तुत गर्नुपर्ने बताएका छन् । गौतमलाई प्रचण्ड–नेपालले ओलीको रणनीतिक प्रस्तावमात्र भएकाले त्यसको पछाडी नलाग्न आग्रह गरेको बुझिएको छ । ‘प्रधानमन्त्रीबाट आएको प्रस्ताव वास्तविक हो वा रणनीतिक कार्ड मात्रै हो भन्ने कुरा शनिवारको बैठकमा उहा कुन रुपमा प्रस्तुत हुनुहुन्छ भन्नेमा थाहा हुनेछ’, प्रचण्ड–नेपालले गौतमलाई बताएको कुरा उदृत गर्दै एक नेताले भने ।
उपाध्यक्ष गौतम भने आफुलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावलाई सहि नियतका साथ आएको भन्दै त्यसबाट आफु उत्साहित भएको प्रतिक्रिया दुवै नेतालाई दिएका छन् । गौतमले मनोनित भन्दा निर्वाचन लडेरै प्रधानमन्त्री हुने इच्छा देखाएका छन् । उनले डोल्पाबाट निर्वाचनमा उठ्न चाहेको उनी निकट एक नेताले जानकारी दिएका छन् । यसअघि पनि उनि सो क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा थिए । तर, त्यसबेला प्रधानमन्त्री बन्ने पक्का नभएको र अब बन्ने पक्का भएकाले मतदाताले मतदान गर्ने उनको विश्वास रहेको बुझिएको छ ।
उपाध्यक्ष गौतमले साथ छाड्न सक्ने आशंका पाएका प्रचण्ड–नेपालले कोटेश्वरमा शुक्रबार अपरान्ह आवश्यक रणनीति बनाएका छन् । दुई नेताले सचिवालय बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावबारे प्रधानमन्त्रीबाट थप प्रष्टता खोज्ने सहमति जुटाएको नेताहरु बताएका छन् । ‘वामदेव कमरेडलाई प्रधानमन्त्री बनाउने भन्नुभएको छ, उहाँलाई प्रधानमन्त्री बनाउने आधार के–के हुन् भन्नेबारे सचिवालयमा प्रधानमन्त्रीलाई सोध्ने कुरा भएको छ,’ भेटपछि नेता भिम रावलले भने, ‘सचिवालयले वामदेवलाई राष्ट्रिय सभामा मनोनयन गर्न गरेको निर्णय कार्यान्वयन नगर्ने प्रधानमन्त्रीले कसरी उहाँलाई प्रधानमन्त्री बनाउनु होला ।’
शुक्रबार नै अध्यक्षद्वय ओली र प्रचण्डबीच पनि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आपसी द्वन्द्वकसरी कम गरेर लैजाने भन्नेबारेमा छलफल भएको स्रोतले बताएको छ । यद्यपी कुनै सहमति नभएको बताइएको छ । प्रधानमन्त्री ओलीले पनि विहिवारदेखी नै केन्द्रीय सदस्य र सांसदहरुसग नियमित छलफलमा जुटिरहेका छन् ।
चिनियाँ राजदूतको सक्रियता
नेकपाको विवाद चर्किदै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । राजदूत होउले शुक्रबार विहान अध्यक्ष प्रचण्ड र त्यसलत्तगै नेपालसँग भेटवार्ता गरेकी छन् ।
प्रचण्डलाई उनकै निवास खुमलटारमा भेटगरी उनले राजनीतिक स्थिरता कायम गर्ने गरी अगाडी बढ्न आग्रह गरेको बुझिएको छ । चीनको पनि चाहाना नेपालमा स्थिरता होस् भन्ने रहेको सन्देश सुनाएको स्रोतले दावी गरेको छ । जवाफमा प्रचण्डले छलफल चलिरहेकाले पार्टीभित्र देखिएका समस्या चाडै समाधान हुने बताएका थिए । त्यसलगत्तै राजदूत होउ नेपाल निवास कोटेश्वर पुगेकी थिइन् । त्यहा पनि उनले सोही धारणा राखेको स्रोतले बताएको छ । नेकपाभित्र चर्किएको द्वन्द्वका बेला नेकपाका शिर्ष नेतालाई उनले भेट्नुले निक्कै अर्थपूर्ण सन्देश दिने बताइएको छ ।