स्वास्थ्य मन्त्रालयको रणनीति – “थेग्नै नसक्ने गरी कोरोना भाइरसको संक्रमण फैलिए घरमै उपचार”

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्ण रूपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ । कोरोना महामारीको सम्भावित जोखिम कम गर्न सबै उपाय अपनाएर जुधिरहेको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि चारवटा रणनीति बनाएको थियो । रणनीतिअनुसार नै व्यवस्थित किसिमले काम गरिएकाले कोरोना संक्रमणको दर बढ्न नपाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

सचिव कोइरालाका अनुसार संक्रमण दर थेग्नै नसक्ने गरी फैलिए घरमै गएर उपचार गर्ने व्यवस्था मिलाउनेसम्मको तयारी गरिएकाले आत्तिनुपर्ने अवस्था छैन । ‘हालसम्म नेपालमा ५९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन् । कोइरालाका अनुसार कोभिड–१९ का जटिल बिरामीलाई अस्पताल र सामान्यलाई घरमै उपचारको व्यवस्था मिलाउने योजना बनाइएको छ ।

कोइरालाले भने, ‘थेग्नै नसक्ने गरी (अमेरिका, युरोपमा जस्तै) संक्रमण फैलिएको अवस्थामा चौथो रणनीतिक योजना कार्यान्वयनमा ल्याइनेछ, जुन अन्तिम विकल्प हो ।’ पहिलो र दोस्रो रणनीतिलाई सफलतापूर्वक कार्यान्वयनमा ल्याएको मन्त्रालयले हाल तेस्रो रणनीतिअनुसार काम गरिरहेको छ । जसअन्तर्गत स्थानीय रूपमा संक्रमण फैलिन नदिने योजना बनाइएको र सफल भएको मन्त्रालयको निष्कर्ष छ । कैलालीमा एक महिलामा देखिएको स्थानीय संक्रमण नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ रोकथामका लागि रणनीतिक योजनाअनुसार काम गरिरहेको मन्त्रालयले हाल कोरोना संक्रमणबाट जोगिन ६ वटा ‘टी’अर्थात् ट्राभल, रेस्ट्रिक्सन, टेस्टिङ, ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदरको रणनीतिसमेत कार्यान्वयन गर्दै आइरहेको कोइरालाले जानकारी दिए ।

मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै २५ वटा हब अस्पताल तोकेको छ । ‘ती कोरोना अस्पतालमा आवश्यकताअनुसार स्वास्थ्यजन्य सामग्रीहरू उपलब्ध गराउँदै आएका छौं । यस्तै, कोरोना परीक्षणका लागि आवश्यक ल्याब व्यवस्था गरिएको छ,’ सचिव कोइरालाले राजधानीसँग भने ।

– एक हजार बेड तयारी अवस्थामा
– सुविधासम्पन्न अस्पताल, जनशक्ति र अस्पतालको स्तरोन्नति
– संक्रमण फैलिन नदिन २५ हब अस्पताल
–उपचार गर्न ८५ वटा अस्पताल

सरकारले कोरोना संक्रमण फैलन नदिन केन्द्र र प्रदेशका २५ हब अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गरेको छ । सरकारले हब अस्पताललाई १० लाख रुपैयाँका दरले बजेट उपलब्ध गराएको छ ।

१ हजार बढी बेड र नजिकका स्याटलाइट अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण फैलिहाले संक्रमित झन्डै ५ हजार व्यक्तिलाई उपचारमा सहज हुने गरी योजना बनाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बनाएको चारवटा रणनीतिअन्तर्गत पहिलो रणनीतिमा विदेशबाट कसैलाई भित्रिन नदिने योजना थियो ।

दोस्रो रणनीतिअन्तर्गत विदेशबाट नेपाल फर्किएकालई परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने र संक्रमण देखिए अस्पतालको आइसोलेसनमा राखिने योजना बनाइएको थियो । यी दुवै रणनीति कार्यान्वयनमा आइसकेका छन् ।

थेग्नै नसक्ने गरी संक्रमण फैलियो भने चौथो रणनीतिक योजना कार्यान्वयन गरिनेछ । संक्रमितमध्ये गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल र बाँकीलाई घरमै गएर उपचार गर्ने व्यवस्था मिलाइनेछ, जुन अन्तिम विकल्प हो ।

यादवप्रसाद कोइराला, सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौंबाट रेजिडेन्ट चिकित्सकको टोली खटिएको छ । यस्तै, स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा कोभिड–१९ को रोकथाम, पहिचान र उपचारका लागि प्रदेश तहमा जनशक्ति तथा बन्दोबस्तीका सामग्री परिचालन गर्न ११औं तहका कर्मचारीको नेतृत्वमा टोली खटाएको छ ।
सरकारले कोरोना संक्रमितको उपचारका लागि केन्द्र, प्रदेश र जिल्लामा गरी देशभर ८५ वटा अस्पताल तोकेको छ ।

प्रत्येक प्रदेशमा सुविधासम्पन्न अस्पताल बनाउने गरी स्वास्थ्य मन्त्रालयले योजना बनाएको छ । आगामी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य मन्त्रालयले सुविधासम्पन्न अस्पताल, जनशक्ति र अस्पातालको स्तरोन्नतिमा जोड दिएको छ ।

प्रकाशित : शनिबार, बैशाख २०, २०७७०३:१८

कोरोना विरुद्ध अग्रपंक्तिमा डा. रुना, भन्छिन् – ‘अरुलाई सुरक्षित बनाउन त्याग अनिवार्य’