काठमाडौँ – अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका एक व्यक्तिमा पुनः कोरोना भाइरस संक्रमण देखिएको छ।
कोरोना भाइरस संक्रमण भएपछि १४ दिन अस्पताल बसेर घर फर्किएका रौतहटको इशनाथ नगरपालिकाका एक जनामा पुनः कोरोना भाइरस संक्रमण देखिएको हो।
उनी वैशाख ११ गते अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका थिए। एक्कासी ज्वरो आएपछि उनको घरबाटै स्वाबको नमुना सङ्कलन गरिएको थियो। सोहि स्वाबको परिक्षण गर्दा उनीमा पुनः कोरोना भाइरस संक्रमण देखिएको हो।
पुनः कोरोना देखिएपछि उनलाई नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा भर्ना गरिएको छ। निको भएर घर फर्किएको ४ दिनपछि ती व्यक्तिमा ज्वरो आएपछि परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जले जनाएको छ।
यस्तै उनीसँगै कोरोना निको भएर डिस्चार्ज भएका ४ जनाको पनि परिक्षण गर्ने तयारी गरिएको छ। अस्पतालका अनुसार ती ४ जनालाई पनि अस्पताल ल्याएर आइसोलेसनमा राख्ने तयारी गरिएको छ।