काठमाडौँ, बैशाख २१। नेपालमा फेरी १० कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । आइतबार नेपालमा १० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।
नेपालगञ्जमा ९ जना र वीरगन्जमा एक गरेर १० जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्जमा कोरोना पुष्टि हुनेमा ५ जना पुरुष र ४ जना महिला रहेका छन् भने वीरगञ्ज महानगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ ।
स्वास्थ्यकर्मीको बीमा
झापाको ओमसाई पाथिभरा अस्पतालले अस्पतालमा कार्यरत सबै जनाको जीवन बीमा गरिदिएको छ ।
अस्पतालका निर्देशक बालकुमार पोखरेलले चिकित्सक, नर्स तथा अन्य कर्मचारी गरी १४६ जनाको एक वर्षे जीवन बीमा गरिएको जानकारी दिनुभयो । कोरोना सङ्क्रमणविरुद्ध पहिलो पङ्क्तिमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीको सुरक्षाका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग यही वैशाख २० गतेदेखि लागू हुने गरी सो बीमा गरिएको जानकारी दिनुभयो ।
बीमावापत एक वर्षको रु तीन लाख ८३ हजार बीमा कम्पनीलाई भुक्तानी गरिएको र यसबाट कार्यक्षेत्रमा खटिने सबै स्वास्थ्यकर्मीको मनोबल बढ्ने उहाँको धारणा छ । बीमामा भएको व्यवस्थाअनुसार बीमा अवधिमा कालगतिले मृत्यु भएमा रु पाँच लाख, कोरोना र अन्य दुर्घटनाबाट मृत्यु भएमा रु १० लाख रकम परिवारका सदस्यले पाउनेछन् ।
जिल्लाका निजी क्षेत्रका अस्पतालले आफ्ना स्वास्थ्यकर्मीका लागि कोरोना जोखिमविरुद्ध बीमा गराएको पहिलो भएको जनाइएको छ ।