नेपालगञ्जमा कोरोना फैलिएपछि कोहलपुरको दक्षिण नाका बन्द, कुनै गतिविधि गर्न नपाइने गरी रोक !

कोहलपुर – नेपाल–भारत सीमासँग जोडिएको बाँकेको दक्षिण नाका बन्द हुने भएको छ । जिल्लामा कोरोना सङ्क्रमण देखिएसँगै नेपालगञ्जदेखि १६ किमी टाढा कोहलपुर नगरपालिकाको दक्षिणतर्फको सीमा बन्द गर्ने र अन्य नाकामा कडा निगरानी गरिने कोहलपुर नगरपालिकाकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

आपत्कालीन सेवाबाहेकका सवारी साधनलाई कोहलपुर प्रवेशमा रोक लगाइएको छ । एक साताका लागि कोहलपुरमा कुनै गतिविधि गर्न नपाइने गरी रोक लगाइएको नगरपालिकाका प्रेस सल्लाहकार भीम रावतले जानकारी दिए ।

कोहलपुर– १५ चौधरीया गाउँबाट अपरिचित व्यक्ति नगरभित्र प्रवेश गर्ने भएकाले त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्ने, नगर क्षेत्रभित्र आयोजना हुने औपचारिक कार्यक्रम स्थगन गर्ने र भौतिक तथा पूर्वाधार निर्माणका योजनासमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमित देखिएसँगै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाको डिएसपी रोड, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै बन्द गरेको थियो । कोहलपुरमा कोरोना सङ्क्रमण फैलन नदिन सम्पूर्ण नगरवासीलाई बन्दाबन्दीको पालना गर्न आग्रह गर्दै नगरपालिकाले अत्यावश्यक एम्बुलेन्स, ग्यास र पानीबाहेकका सवारी साधनलाई प्रवेश निषेध गरेको छ ।

धरौटीमा रिहा

वीरगञ्ज – बन्दाबन्दीको समयमा कृत्रिम मूल्य सिर्जना गरी दालको कालोबजारी गरेको अभियोगमा पक्राउ परेकालाई धरौटीमा रिहा गरिएको छ ।

विभिन्न मिलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रकाशित : सोमबार, बैशाख २२, २०७७०८:२९

“आत्मालोचना गर्दैमा भ्रष्टाचार र गरेको अपराधबाट प्रधानमन्त्री चोखिंदैनन्”