एजेन्सी – विश्वभर फैलिरहेको कोरोना भाइरसको नयाँ केन्द्रविन्दु रसिया बन्ने खतरा बढेको छ। बितेका दिनहरुमा संक्रमितको संख्यामा भएको उच्च वृद्धिले रसिया कोरोना भाइरसको ‘हट-स्पट’ भन्ने खतरा बढेको हो।
दैनिक १० हजार हाराहारीको दरले संक्रमित बढिरहेको रसियामा अहिले सम्म संक्रमितको संख्या १ लाख ३४ हजार ६ सय ८७ पुगेको छ। बितेको २४ घण्टामा मात्रै त्यहाँ १० हजार ६ सय ३३ संक्रमित थपिएका छन्। रसियामा एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो पहिलो घटना हो।
कोरोना संक्रमितहरुको संख्या दिन-दिनै बढ्दै गएपछि रसिया विश्वको धेरै संक्रमण भएको सातौं मुलुक बन्न पुगेको छ। गत बिहीवारमात्रै रसियामा संक्रमितको संख्या १ लाखभन्दा माथि कटेको थियो। जुन संख्या सोमबार सम्म आइपुग्दा १ लाख ३४ हजार नाघेको छ।
पछिल्ला केहि दिन देखि रसियामा दैनिक ८ हजार भन्दा बढी संक्रमित फेला पर्दै आएका थिए। तर, बितेको २४ घण्टामा भने उक्त संख्या १० हजार नाघेको छ।
यो समाचार तयार पार्दा सम्म रसियामा कोरोना संक्रमणबाट १ हजार २ सय ८० जनाले ज्यान गुमाइसकेका छन्। बितेको २४ घण्टामा त्यहाँ ५८ जनाले ज्यान गुमाएका छन्। यस्तै रसियामा १६ हजार ६ सय ३९ संक्रमित निको भएर फर्किसकेका छन्।
विश्वभर कोरोना
विश्वभर कोरोना संक्रमितको संख्या ३५ लाख ६३ हजार ६८९ पुगेको छ। हाल सम्म विश्वभर २ लाख ४८ हजार १ सय ४६ संक्रमितको ज्यान गैसकेको छ।