काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रलाई जोखिममा राखेर लकडाउन खुकुलो नपार्ने संकेत गरेको छ । लकडाउनलाई कायमै राख्ने तर, केही क्षेत्रमा भने सजगता अपनाएर खुल्ला गर्ने तयारी गरेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
अर्थतन्त्रलाई चलायमान अवस्थामा ल्याउन उद्योग व्यवसाय, पर्यटन, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रलाई सक्रिय बनाउने उपायबारे भने सरकारले अध्ययन जारी राखेको छ । लकडाउन भएको डेढ महिना वितिसकेकाले यसको स्वरुप परिवर्तन कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले छलफल जारी राखेको छ । वैशाख २५ पछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री–वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी थालेको हो ।
उद्योग र कलकारखानालगायत उत्पादनमूलक उद्योग तथा दैनिक उपभोग्य वस्तुको बिक्री–वितरणमा पनि सावधानी अपनाएर लकडाउन खुकुलो बनाउने गरी खाका तयार पारिएको छ । सो खाका मंगलबार प्रधानमन्त्रीसहित बस्ने उच्चस्तरीय समितिको बैठकमा छलफल भई निर्णय हुनेछ । समितिले २५ बैशाखबाट एक साता लकडाउन बढाउन भने सहमति जुटाएको छ ।
प्रस्तावित खाकाअनुसार सीमा क्षेत्रलाई रेड जोनका रुपमा राखेर आवागमन पूर्ण रुपमा ठप्प पार्ने, देशभित्र यात्रु ओसारपसारका लागि निजी तथा सार्वजनिक कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाइने व्यवस्था गर्ने तयारी सरकारको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए । बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य मन्त्रालयलका अधिकारीले शर्तसहित राजधानीलगायत विभिन्न स्थानमा लगाइएको लकडाउन खुकुलो बनाउदै लैजानु पर्ने सुझाव दिएको सहभागी एक अधिकारीले बताए ।
‘यातायातका साधन अहिले जुन अवस्थामा छन, त्यसलाई नै निरन्तरता दिने तर ग्रिनजोनमा रहेका जिल्लामा कृषि, पशु तथा त्यससँग सम्बन्धित कारोबार सावधानी अपनाएर खुकुलो बनाउने, मालसामानको ढुवानीलाई सरल बनाउने, अन्य उत्पादनमूलक उद्योग र कलकारखाना सावधानी अपनाएर सञ्चालन गर्ने गरी लकडाउनको मोडालिटीमा परिवर्तन गर्ने विषयमा छलफल भयो’, ती अधिकारीले भने, ‘यद्यपि निजी तथा सार्वजनिक यातायात, शैक्षिक संस्था, भिडभाड हुने बजार, सिनेमा हललगायत भने बन्द नै रहने छन् ।’
होटल रेस्टुरेन्ट आन्तरिक रुपमा सञ्चालन गरेर तयारी खाद्यवस्तु अर्डर गरेर लैजाने गरी खुलाउन सरकार लचिलो बनेको छ । यद्यपि ग्राहकलाई होटेल र रेस्टुरेन्टमा राखेर भने सञ्चालन गर्न नपाइने प्रस्ताव तयार पारिएको छ । मंगलबार बस्ने समिति बैठकले यी प्रस्तावसहितको लकडाउन मोडालिटी लागू गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्नेछ ।
यद्यपी समितिले यसबारेमा अन्तिम मोडालिटी तयार पार्न स्वास्थ्य, रक्षा, गृहलगायतका सचिवलाई निर्देशन दिइएको छ । यसैबीच मंगलबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले समन्वय समितिमा रहेका मन्त्री र सम्बन्धित अन्य मन्त्रीसँग छलफल गर्ने भएका छन् । प्रधानामन्त्री निवास बालुवाटारमा हुने बैठकले लकडाउनको मोडालिटीलाई अन्तिम रूप दिने बताइएको छ । प्रदेश–१, प्रदेश–२ र प्रदेश–५ मा संक्रमणको जोखिम अझै उच्च रहेको सरकारको बिश्लेषण छ ।