काठमाडौँ – कोरोना भाइरस महामारीका कारण अहिले पूरै विश्व आक्रान्त छ। विश्वका अधिकांश देशहरु लकडाउनको अवस्थामा छन्। नेपालमा पनि लकडाउन भएको लगभग डेढ महिना पुगिसक्यो। लकडाउनको अवधि बढ्दै गर्दा निम्न आए भएका, ज्याला-मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुको अवस्था बिस्तारै जटिल बन्दै गइरहेको छ।
यस्तो अवस्थामा केहि स्थानीय निकाय, समाज सेवी संस्था र क्लबहरुले सार्वजनिक मेस चलाएर भोको पेट भर्ने काम गरिरहेका छन्। तर पनि, लकडाउनका कारण पिडित भएका सम्पूर्णलाई समेट्न सकिएको छैन।
बिगत लामो समय देखि समाज सेवाको क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्दै आएको लायन्स क्लब इन्टरनेसनल पनि लकडाउनको समयमा सक्रिय छ। लकडाउनमा सरकारको नियम कानून र निर्देशिकाको पालना गर्दै अग्र भागमा रहेर आफ्नो लायन्स “फुड बैंक” मार्फत खाद्यान्न, तरकारी, फलफुल वितरण गरिरहेको छ। लायन्स क्लब इन्टरनेसनलले लकडाउन पछि मात्रै एक सय भन्दा बढी सङ्घ-संस्था तथा स्थानीय निकायले चलाइराखेको मेस, बाल-आश्रम, वृद्धाआश्रमहरुमा खाद्यान्न वितरण गरिसकेको छ । साथै लायन्स क्लबले सुरक्षाकर्मीहरु तथा स्वास्थ्यकर्मीहरुलाई पिपिई, सर्जिकल पञ्जा, केएन मास्क लगायतका सामाग्रीहरु पनि वितरण गर्दै आएको छ।
यसै बीच लकडाउनकै समयमा लायन्स क्लबले भिन्न प्रकारको कार्यक्रम पनि संचालनमा ल्याएको छ। लायन्सले लकडाउनकै बीच देशलाई जीवनकालमा योगदान पुर्याएका ख्याती प्राप्त सर्जक, कलाकार, समजसेवी, खेलाडी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई घरमै पुगी सामाजिक दूरी कायम गरेर सम्मान पत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गरेको हो।
वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, वरिष्ठ बसुन्धरा भुसान, भुवन चन्द, ब्याकुल माइला, लोक गायक कुमार बस्नेत, समाजसेवी अनुराधा कोइराला, नेपालकी पहिलो मिस नेपाल रुबी राणा, बैकुण्ठ मानन्धर, शिवलाल श्रेष्ठ,प्रा गोविन्द नारायण ज्यापू, हरी मोहान ज्योति लगायतलाई घरमै पुगेर सम्मान गरिएको लायन्सले जनाएको छ। लकडाउनको समयमा पनि लायन्सले सामाजिक दूरी कायम गर्दै आफूहरुलाई सम्मान तथा योगदानको कदन गरिदिएकोमा सम्मान गरिएका विशिष्ट व्यक्तिहरुले खुशि व्यक्त गरेका छन्।