– देवराज सुवेदी
एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन शुरुआत् गरेको छ । सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।
उनका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन थियो । “राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं । समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो । ” उनले भने।
एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरु गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन् । हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको र ३५० कोे हाराहारीमा सो सङ्ख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ । अहिले रु ५०० बाट शुरु गरेको यो कार्यक्रम आगामी वर्षहरुमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए।
क्वारेन्टाइनको मापदण्ड पुगेन
अनुगमनका क्रममा सुनकोशीका ११ श्ययाको क्वारेन्टाइनको मापदण्ड नपुगेपछि हाललाई बन्द गरिने भएको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको नेतृत्वमा अनुगमनमा गएको टोलीले उक्त क्वारेन्टाइनमा आवश्यक मापदण्ड नपुगेको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।
क्वारेन्टाइनको नाममा स्थानीय तहले कोठामा श्यया तयार गरेको मात्रै पाइएको र यसका लागि अन्य आवश्यक स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापन भइनसकेकाले उक्त क्वारेन्टाइनमा सम्पूर्ण आवश्यक सामग्रीको उपलब्धता नभएसम्मका लागि गणना नगरिएको उनले जानकारी दिए। उनका अनुसार अनुगमन समिति अनुगमनको क्रममा नै रहेको र अन्य स्थानको पनि क्वारेन्टाइनको अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने छ ।
अनुगमनको क्रममा श्यया मात्र राखेर क्वारेन्टाइनमा स्वास्थ्य सामग्रीको समेत उपलब्धता नभएको पाइएकाले सो गाँउपालिका वडा नं ४ मा रहेको चार श्यया र वडा नं ७ मा रहेको सात श्ययाको क्वारेन्टाइन खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गदत्त चापागाईँले जानकारी दिए।
सो गाउँपालिकाले सम्पूर्ण वडावडामा नै क्वारेन्टाइन तयार गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख तामाङको नेतृत्वमा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, सहायक जिल्ला प्रमुख बाबुराम खनाल, जिल्ला जनस्वास्थ्य प्रमुख चापागाईँ, समन्वय समितिका सदस्य सकुन्तला माझीलगायतको टोलीले सोमबार लिसङ्खुपाखर गाउँपालिका र सुनकोशी गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनहरुको अनुगमन गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले जानकारी दिए। यसअघि नै शनिबार अनुगमनको क्रममा भोटेकोशीमा रहेको १० श्ययाको क्वारेन्टाइन बन्द गरिएको थियो ।