काठमाडौँ – कोरोना संक्रमण पुष्टि भएपछि कोशी अस्पतालमा उपचाररत ६ कोरोना संक्रमित निको भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ कोरोना संक्रमित निको भएका हुन्।
दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि ६ जनालाई बुधबार डिस्चार्ज गरिने भएको छ। प्रदेश एक सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजनाले ६ जनाको रिपोर्ट नेगेटिभ आएको र बुधबार डिस्चार्ज गर्ने तयारी गरिएको जानकारी गराएको छ।
कोरोना पुष्टि भएपछि गत वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जनामध्ये ६ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि तेसो परिक्षणको तयारी गरिएको र सो रिपोर्ट पनि नेगेटिभ आए डिस्चार गर्ने अस्पतालको तयारी छ।
बुधबार डिस्चार्ज गर्ने तयारी गरिएका ६ जना नै भारतीय छन्। मंगलबार दोस्रो रिपोर्ट पनि नेगेटिभ आएकाहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन्। बुधबार डिस्चारको तयारी गरिएकाहरुलाई डिस्चार्ज पश्चात विराटनगरस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिनेछ।
विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा अहिले ३१ जना संक्रमित उपचाररत छन्। उपचाररत सम्पूर्णको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।