दुई महिने शिशुसहित थप १७ जनामा कोरोनाको पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौँ – नेपालमा १७ जना कोरोना संक्रमणको पुष्टि भएको छ। बुधबार दुई महिने शिशुसहित थप १७ जना कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु वीरगञ्जका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका छन्। संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेको बताइएको छ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको स्नाख्य ९९ पुगेको छ ।

क्वारेन्टाइन बसेकालाई परीक्षणबिनै घर पठाइयो

यही वैशाख १७ गते सुर्खेतको लेकबेँसी नगरपालिकाले जीवनज्योति मावि दशरथपुरमा सञ्चालित क्वारेन्टाइनमा राखिएका आठ जनालाई कोरोना परीक्षणबिनै घर पठाइएको छ । नगरपालिकासँग भाइरल ट्रान्सफर्म मिडियम (भिटीएम) तथा स्वाब परीक्षण गर्ने प्रोसेसिङ किट नहुँदा १४ दिन क्वारेन्टाइन बसेकाहरुलाई अन्ततः परीक्षणबिनै घर फर्काएको हो । नगरपालिकाले परीक्षणबिनै घर पठाएपछि उनीहरुले आपत्ति जनाएका छन् ।

आरडिटी परीक्षणका लागि नगरपालिकासँग पर्याप्त किट थिएन । नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी कर्ण आचार्यका अनुसार किट अभावले आठमध्ये दुई जनाको मात्र परीक्षण गरियो । ती दुईको नतिजा नेगेटिभ आएपछि नगरपालिकाले बाँकी छ जनालाई पनि कुनै सम्भावित सङ्क्रमण नदेखिएको अनुमानका भरमा क्वारेन्टाइनबाट बिदाइ गर्यो । जसले थप जोखिम निम्त्याउन सक्ने चिन्ता गरिएको छ ।

स्वास्थ्यकर्मी आचार्यले किट आएपछि परीक्षण गर्ने शर्तमा घर पठाइएको बताए । सोही दिन सुर्खेतकै भेरीगङ्गा नगरपालिकाले पनि नौ जनालाई त्यसैगरी घर पठायो । नगर स्वास्थ्य संयोजक राजेश बुढाले सिन्धुपाल्चोकबाट आएका नौमध्ये एक जनाको मात्रै आरडिटी परीक्षण गरिएको बताए । “किट अभावका कारण एक जनाको मात्र जाँच गरेर घर पठाउनुपर्यो, जिल्ला स्वास्थ्य र प्रदेश सरकारसँग आग्रह गर्दासमेत पाइएन”, उनले भने, “किटकै पर्खाइमा क्वारेन्टाइन अवधि पूरा भएकालाई समेत घर पठाउन सकेका छैनौँ ।”

आरडिटी किट अभावका कारण सुर्खेतमा एक सातादेखि कोरोना परीक्षण हुनसकेको छैन । तत्काल किट आउने सम्भावना नभएपछि क्वारेन्टाइनमा बसेकाहरुको सामूहिक नमूना परीक्षण गरेर घर पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेश स्वास्थ्य निर्देशनालयले किट नआउँदासम्म ‘गु्रप टेष्ट’ गर्नुको विकल्प नभएको जनाएको छ ।

प्रकाशित : बुधबार, बैशाख २४, २०७७११:०३

प्रोसेसिङ किट नहुँदा १४ दिन क्वारेन्टाइन बसेकाहरुलाई परीक्षणबिनै घर पठाइयो !