भारतमा तिब्र बढ्दै कोरोना, संक्रमितको संख्या ५० हजार नाघ्यो !

सांकेतिक तस्विर

काठमाडौँ – भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत तीन दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । पछिल्ला केहि दिन देखि भारतमा दैनिक २ हजार भन्दा बढी संक्रमित थपिरहेका छन्।

यो समाचार तयार पर्दा सम्म भारतमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेर ५२ हजार ३ सय ४० पुगेको छ। बुधबार मात्रै त्यहाँ २ हजार ९ सय ४० संक्रमित थपिएका छन्।

बुधबार ७५ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६९ पुगेको छ। भारतमा कूल संक्रमितमध्ये १४ हजार ९११ जना निको भएका छन् । उनीहरुलाई देशका विभिन्न अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

कोरोना संक्रमितहरुमध्ये महाराष्ट्र, गुजरात र नयाँदिल्ली सर्वाधिक प्रभावित क्षेत्र देखिएका छन् ।

महाराष्ट्र सरकारले उपचारका लागि केन्द्र सरकारसँग अपिल गर्यो

भारतको महाराष्ट्र सरकारले कोभिड १९ संक्रमणको उपचारका लागि अस्पतालहरु उपलब्ध गराइदिन भारतका केन्द्र सरकारलाई अपिल गरेको छ । महाराष्ट्रमा कोभिड १९ का विरामी बढ्दै गएपछि उनीहरुको उपचारका लागि आफ्नो राज्यमा रहेका अस्पतालहरु पर्याप्त नभएको भन्दै सो अपिल गरेको हो ।

महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेको कार्यालयबाट बुधबार बिहान जारी भएको अपिलमा भारतको केन्द्रीय सरकारको मातहतमा रहेका स्वास्थ्य संस्था तथा अस्पताललाई उपलब्ध गराइदिन भनिएको छ ।

यसका लागि भारतको केन्द्र सरकारका विभिन्न निकाय तथा विभागहरुलाई आग्रह गरिएको छ । ती विभागहरुलाई आफ्नो राज्यमा विरामीहरुको संख्या अकल्पनीय रुपमा बढ्दै गएको र भोलिका दिनमा उपचारका लागि स्वास्थ्य संस्थाहरु नै उपलब्ध हुन सक्ने अवस्था पनि नरहन सक्ने भन्दै सो अपिल गरिएको बताइएको छ ।

यही मे महिनाभित्रै महाराष्ट्रमा अतिरिक्त आइसियु कक्षका साथै औषधि तथा स्वास्थ्यकर्मीहरुको संख्यामा पनि बृद्धि गर्नुपर्ने अवस्था रहेको सो अपिलमा भनिएको छ ।  यस राज्यमा भारतका अन्य राज्यको तुलनामा सबैभन्दा धेरै संक्रमित रहेका छन् । यहाँ दिन प्रतिदिन कोरोनाका संक्रमित थपिँदै गएका छन् ।

प्रकाशित : बुधबार, बैशाख २४, २०७७१८:०८

कोरोना भाइरस जोखिम बढेपछि आजदेखि काभ्रेका सबै नाका बन्द !