नेकपामा फेरी बल्झियो किचलो: माधव नेपालले यसो भनेपछि सहनै नसकेर ओली उठेर गएका थिए…

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा फेरी किचलो बल्झिएको छ । एजेण्डाका विषयमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र उनको इत्तर पक्षबीच कुरा नमिलेपछि विहिवार बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले बजेटसहित नीति तथा कार्यक्रममा ध्यान केन्द्रीत गर्नुपर्ने भएकाले केही समय बैठक सार्न प्रस्ताव गरेका थिए । तर, सचिवालयका केही सदस्यले बैठक सार्न नहुने धारणा राखेपछि केही समय विवाद भएको स्रोतले दावी गरेको छ । प्रचण्ड र महासचिव विष्णु पौडेललाई प्रधानमन्त्रीले एजेण्डा बनाउन भनेपनि विवाद भएको थियो । बुधबारको बैठकमा एजेण्डा प्रस्तुत गर्न नसकेपछि प्रधानमन्त्रीले आफु थाकेकाले आराम गर्न जाने बताएका थिए ।

विहिवार विहान बोलाइएको स्थायी कमिटी बैठक स्थगित, एजेण्डामा सहमति नजुट्दा अर्को बैठक अनिश्चित

दुई पक्षबीच विशेषगरी ‘एक व्यक्ति एक पद’को मुद्धा सबैभन्दा पेचिलो बनेको छ । वरिष्ठ नेता माधव नेपालको जोडमा सबै कमिटीमा एक व्यक्ति एक पद लागु हुनुपर्ने प्रस्तावमा प्रचण्डले पनि सहमति जनाएका छन् । तर, ओली पक्षले भने पार्टी एकता गर्दा नै सहमति भईसकेकाले आउँदो एकता महाधिवेशनसम्म यही मोडलमा जानुपर्ने अडान राख्दै आएको छ । दुई पक्षबीच यहि विषयमा मुख्य विवाद रहदै आएको छ । सो व्यवस्था लागु भएमा प्रचण्ड पहिलो अध्यक्ष हुने छन् भने नेपाल दोस्रो वरियताको अध्यक्ष बन्ने भएकाले सो मुद्धा उठाउदै आएका छन् ।

ओली पक्षले भने प्रधानमन्त्री वा पार्टी अध्यक्ष एक छाड्नुपर्ने हुँदा पार्टीभित्र आफुहरु कमजोर हुने आकंलन गर्दा समस्या भएको छ । नेकपाका महासचिव विष्णु पौडेलले विहिवारको सचिवालय बैठक अध्यक्षद्वयको छलफलपछि स्थगित गरिएको जानकारी दिए । बजेटसहित नीति तथा कार्यक्रममा सरकारको बढि ध्यान केन्द्रीत गर्नुपर्ने भएकाले तत्कालका लागि बैठक स्थगित गरिएको जानकारी दिए । सरकारले बर्खे अधिवेशन शुक्रबारदेखी आव्हान गरिसकेको छ । जेठ १५ गतेभित्रै बजेट ल्याईसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

बुधबारको सचिवालय बैठकमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बढि विवाद देखिएको छ । नेता नेपालले अबको स्थायी कमिटी बैठकले पार्टीको विधि र पद्धतिबारे निर्णय गरे अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन सक्ने संकेत गर्दै भनाई राखेका थिए । त्यसपछि बैठकको महौल फेरिएको थियो । जवाफमा अध्यक्ष ओलीले तत्कालै आफुलाई एक्लाउन खोजेको भन्दै अध्यादेश फिर्ता लिईसकेको अवस्थामा तत्काल स्थायी कमिटी बैठक बस्नुको औचित्य नभएको बताए । नेता नेपालको पक्षमा प्रचण्डले समेत धारणा राखेपछि अध्यक्ष ओली उठेर हिडेका थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीले जानकारी गराएर बैठकबाट निस्किएको बताए । बैठकपछि बोल्दै उनले भने, ‘प्रधानमन्त्रीको आफ्नै कार्य भएकाले बैठकलाई जानकारी गराएर निस्किनु भएको हो ।’ त्यसपछि भएको छलफलमा अन्य आठै जना सदस्यले अध्यक्षद्वयलाई स्थायी कमिटी बैठकको एजेण्डा र बैठकै बारेमा निर्णय गर्ने अधिकार दिएका थिए । बरिष्ठ नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री हिँडेपछि बाँकी ८ जनाले सचिवालय बैठक डाक्ने÷नडाक्ने, कस्तो प्रस्ताव पेस गर्ने भन्नेबारे दुई अध्यक्षले निर्णय गर्नुपर्ने सुझाव दिएको बताए । ‘प्रधानमन्त्री बैठकमा आउनेबित्तिकै खासै नबोलीकन अप्ठेरो भयो आराम गर्न जान्छु भनेर हिँड्नुभयो’, खनालले भने,‘लामो समय उहाँ नआएपछि हामी पनि हिँड्यौं ।’

विहिवारको बैठक स्थगित भएपनि अर्को बैठक कहिले बोलाउने भन्ने निर्णय भएको छैन । यसबीचमा दुई अध्यक्षबीच थप गृहकार्य गर्ने सहमति भने भएको छ । सचिवालय बैठक लगत्तै बालुवाटारमै दुई अध्यक्षबीच छलफल भएको थियो । छलफलमा अहिले बजेटसहित नीति तथा कार्यक्रममा जुट्नुपर्ने भएकाले केही समय बैठक स्थगित गर्ने सहमति जुटेको थियो । सरकारले चाडै नै संसदीय दलको बैठक बोलाएर नीति तथा कार्यक्रमबारेमा सांसदसँग सुझाव लिने भएको छ । कोरोना संकट चुलिदै गएपछि बजेट कस्तो हुनुपर्ने भन्नेमा पनि सांसदसँग राय लिने भएको हो ।

प्रकाशित : बिहिबार, बैशाख २५, २०७७०२:३७

“बुद्धका उपदेशले कोरोनाविरुद्ध लड्न मनोबल पैदा गर्ने विश्वास लिएको छु” – प्रचण्ड