काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)क अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस विरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने विश्वास व्यक्त गरेका छन्।
सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुता नै नेपाली समाजको विशेषता रहेको हुँदा यही विशेषताले नै संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने ताकत र उर्जा मिल्ने प्रचण्डको विश्वास छ।
“सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुता नै नेपाली समाजको विशेषता हो । यही विशेषताले नै अहिले संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने ताकत र उर्जा पैदा हुन सक्छन् । यस विरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुझ्न मद्दत मिल्ने मैले विश्वास लिएको छु ।”,बिहिबार शुभकामना संदेश जारी गर्दै प्रचण्डले भनेका छन्।
नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेशहरु विश्व मै लोकप्रिय रहेको उल्लेख गर्दै उनले सबै नेपालीले गर्व गर्न सक्ने बताएका छन्।
यस्तै प्रचण्डले आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा पनि शुभकामना व्यक्त गरेका छन्।
प्रचण्डद्वारा जारी सन्देश निम्न छ-
शुभकामना
२५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनसमुदाय तथा विश्वभरका बौद्धमार्गीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेशहरु विश्व मै लोकप्रिय छन् ।
बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याउनु भएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं ।
सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुता नै नेपाली समाजको विशेषता हो । यही विशेषताले नै अहिले संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने ताकत र उर्जा पैदा हुन सक्छन् । यस विरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुझ्न मद्दत मिल्ने मैले विश्वास लिएको छु ।
त्यसैगरी आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु ।
२५ बैशाख, २०७७
……………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष