रोल्पा – लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको आज चट्याङ लागेर मृत्यु भएको छ ।
चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।
चट्याङले भीमबहादुरको एक वटा बाख्रासमेत मरेको जनाइएको छ । घटना भए लगतै घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको थियो । शव परीक्षणका लागि प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएको प्रहरी प्रमुख गुरुङले बताए ।
वैशाख पूर्णिमामा छैनन् स्वर्गद्वारीमा दर्शनार्थीे
पवित्र धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीमा प्रत्येक वर्ष वैशाख पूर्णिमामा हुने दर्शनार्थीको भीड अहिले छैन । आजका दिन स्वर्गद्वारीमा दर्शन गर्न आउने दर्शनार्थीको भीड भए पनि यस वर्ष बन्दाबन्दीका कारण सुनसान बनेको हो ।
गत वर्ष वैशाख चतुर्थी र पूर्णिमामा करीब ३५ हजार दर्शनार्थीले दर्शन गरेको स्वर्गद्वारी अहिले सुनसान हुन पुगेको आश्रमले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण स्वर्गद्वारी आश्रम दर्शनका लागि बन्द गरिएपछि स्थानीयवासीसमेत गएका छैनन् ।
रोल्पाको रुन्टीगढीमा जन्मिएका स्वर्गद्वारी महाप्रभुले वैशाख शुक्ल पूर्णिमादेखि अखण्ड महायज्ञ शुरु गराएका कारण वैशाखे पूर्णिमाको बिहानैदेखि दर्शन गर्नका लागि अघिल्लो दिनमै आउनेको भिड लाग्ने भए पनि यस वर्ष शून्य भएको आश्रमका कोठरी तामुप्रसाद न्यौपानेले जानकारी दिए । स्वर्गद्वारीमा दर्शनार्थी पर्यटक शून्य भएपछि भेटी संकलन र गाईको लागि नुनसमेत रोकिएको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अधिकारीले जानकारी दिए । गाईको दाना अभाव हुँदा समस्या भइरहेको छ । खाद्यान्न धेरै कम भएको र कर्मचारी घरमा बसेपछि घाँससमेत अभाव भएको उनको भनाइ छ । वैशाख पूर्णिमामा आएका तीर्थालुबाट प्राप्त भेटीले छ महिनासम्मको खर्च धान्ने गरेको आश्रमको भनाइ छ ।