काठमाडौँ – कोरोना संक्रमण पुष्टि भएपछि कोशी अस्पतालमा उपचाररत थप ८ जना संक्रमित निको भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २५ जना मध्ये ६ कोरोना संक्रमित निको भएका हुन्।
बिहिबार गरिएको परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुमा अर्को परिक्षणको तयारी गरिएको छ। अर्को रिपोर्ट पनि नेगेटिभ आए आठै जनालाई शुक्रबार डिस्चार्ज गरिनेछ।
कोरोना पुष्टि भएपछि उदयपुरबाट ल्याईएका ८ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि तेस्रो परिक्षणको तयारी गरिएको र सो रिपोर्ट पनि नेगेटिभ आए डिस्चार गरिने असपतालले जनाएको छ। भोलि ८ जना डिस्चार्ज भएको अवस्थामा नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ३० पुग्नेछ।
यस अगाडी बुधबार मात्रै सोहि अस्पतालमा उपचाररत ६ जना डिस्चार्ज भएका थिए। बुधबार ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद गरी ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका थिए।
उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना सङ्कलन गर्ने तयारी
सरकारले कोरोना भाइरसका सङ्क्रमित सङ्ख्याको आधारमा हटस्पटका रुपमा देखिएका उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना सङ्कलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरेको छ ।
कोरोनाको हटस्पटको रुपमा देखिएका क्षेत्र उदयपुरमा कम्तीमा ५००, वीरगञ्ज र नेपालगञ्ज कम्तीमा एक÷एक हजार जनाको नमूना सङ्कलन गर्ने गरी टोली खटाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
सरकारले हालसम्म १४ हजार ५०९ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ५४ हजार ९३ नमूना परीक्षण गरेको छ । गत २४ घण्टामा थप एक हजार ४५१ वटा परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १७ हजार ३७२ रहेको छ । अहिलेसम्म आइसोलेशनमा १३३ जना रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यका बाहिर १३० जना रहेका छन् । स्वमूल्याङ्नका लागि फारम भर्नेको सङ्ख्या ३३ हजार ५२२ पुगेको छ । जसमा रेड जोनमा हालसम्म ३३५ जना रहेका छन् । हालसम्म कूल ९९ जना कोभिड–१९ बाट सङ्क्रमित रहेका छन् । जसमा ७१ पुरुष र २८ जना महिला रहेका छन् । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।