कोरोना संक्रमित सय नाध्यो: कुन प्रदेशमा कति ? [तथ्यांक सहित]

काठमाडौं । नेपालमा कोरोना संक्रमित व्यक्तिको सख्या एक सय नाघेको छ । विहिवार कपिलबस्तुका दुई युवामा कोरोना भाइरस भेटिएपछि संक्रमित व्यक्तिको कुल सख्या १ सय १ पुगेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलबस्तु–८ निवासी दुई युवामा कोरोना पोजेटिभ पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६ र २२ वर्षीय युवामा कोरोना भाइरसको पुष्टि भएको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवै संक्रमितको अवस्था सामान्य रहेको छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत मन्त्रालयले जानकारी दिएको छ । एउटै वडा निवासी दुई युवामा कोरोना देखिएपछि त्यहा सुरक्षा सतर्कता बढाइएको छ ।

सात वटा प्रदेशमध्ये अहिलेसम्म कर्णाली बाहेक सबै प्रदेशमा संक्रमित भेटिएका छन् । सबैभन्दा बढि प्रदेश–१ र २ मा ३१÷३१ जना संक्रमित देखिएका छन् । बागमति प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा २, प्रदेश–५ मा २६ र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । यी मध्ये २२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भईसकेका छन् । प्रदेश–१ का आठ जना पनि संक्रमणमुक्त भएपनि उनिहरुलाई शुक्रबारमात्रै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा पछिल्लो दुइ पटक कोरोना भाईरस नेगेटिभ देखिएपछि डिस्चार्जको तयारी गरिएको हो । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयले बिहीबार साँझ पिसिआर रिपोर्ट नेगेटिभ आएका ८ जनालाई शुक्रबार बिहान १० बजे डिस्चार्ज गर्ने जानकारी दिइएको छ । कोभिड–१९ अस्पताल व्यवस्थापक संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार नेगेटिभ देखिएका मध्ये एकजना भारतीय नागरिक हुन् ।

कोभिड–१९ उपचार केन्द्रका फिजिसियन डा. डेनप्रसाद आचार्यले संक्रमितहरुको दोस्रो स्वाब परीक्षण नेगेटिभ देखिएका कारण डिस्चार्ज गर्नका लागि सिफारिस गरिएको बताए । उनका अनुसार अवस्था अति सामान्य रहेको र दोस्रो स्वाब समेत नेगेटिभ देखिएका कारण डिस्चार्ज गरेर नियमित निगरानी र सावधानीमा रहनु पर्नेछ । यसअघि ६ जनालाई डिस्चार्ज गरिएको थियो ।

प्रकाशित : शुक्रबार, बैशाख २६, २०७७०१:४१

आरडीटी परीक्षणलाई प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्चमा रिट !