कुखुरा चोर लखेट्दा चितुवासँग घम्साघम्सी: हात नै चितुवाको मुखभित्र परेपछि यसरी बचे !

तनहुँ । वैशाख पूर्णिमाको पूजाका लागि भानु गाउँपालिका–४ तनहुँका रामबहादुर कुमालले कुखुरा किनेर ल्याए । बुधबार राती खोरमा कसैले कुखुरा चोरेकोजस्तो लाग्यो उनलाई । हत्तपत्त उठे र लाइट बालेर खोरतिर लागे । उनका दाजु भरत पनि उठे र हल्लाखल्ला भयो । कुखुरा चोरेर लैजाँदै गरेको मान्छे देखेपछि उनीहरू पछिपछि लागे । भरतका छोराहरू टीकाराम, गंगाराम, दीपेन्द्र र रामबहादुरका १३ वर्षका छोरा समीर पनि उठेर बाबुहरूको पछि दौडिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

केही पर खोल्सामा पुगेपछि कुखुरा चोरहरू कता भागे पत्तो भएन । ‘कुखुरा चोरेर भागेका मान्छे देखियो तर पत्ता लगाउन सकिएन’, भरतले भने । लगत्तै खोल्सा नजिक पुगेका रामबहादुरका छोरा समीरलाई चितुवाले आक्रमण गर्यो । रामबहादुरले छोरा जोगाए । तर, चितुवाले रामबहादुरमाथि नै आक्रमण गर्यो । रामबहादुरको हात नै चितुवाको मुखभित्र पर्यो । भाइलाई चितुवाले लडाएको देखेपछि दाइ भरत चितुवामाथि जाइलागे । ‘भाइलाई चितुवाले लडाएको देखेँ, मेरो त त्यसपछि दिमाग नै के भयो भयो, झ्याम्पै चितुवामाथि घोडा चढेर न्याकेँ, त्यसपछि छोराहरूलाई ढुंगा ल्याउन भने’, घटना सम्झिँदै भरत भन्छन् ।

घटना राती करिब तीन बजेको हो । भरतले चितुवालाई न्याके । छोराहरूले ढुंगा र लाठीले लगातार प्रहार गरे । जसोतसो गरेर चितुवाको मुखबाट रामबहादुरको हात निकाले । ‘चितुवाको मुखमा ढुंगा कोचेर भाइको हात निकालेँ, चितुवाले भाग्न निकै बल गरिरहेको थियो, जोडले अठ्याएर मा¥यौँ’, भरतले भने । चितुवा र उनीहरूका बीचमा झण्डै आधा घण्टाभन्दा बढी समय घम्साघम्सी चल्यो । रामबहादुर नेपाली सेनाबाट निवृत्त भएका हुन् । दाजु भरत र उनका छोराहरू कृषि काम नै गर्छन् ।

घाइते भएका रामबहादुरको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको हातको एउटा औला भाँचिएको दाजु भरतले बताए । अन्दाजी १५ किलो तौल र करिब तीन वर्षको पोथी चितुवालाई उनीहरूले मारेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । ‘बाहिरी भाग खुइलिएको चितुवा हेर्दा रोगीजस्तो थियो’, बरालले भने । मृत चितुवा डिभिजन वन कार्यालय दमौली ल्याइएको छ । तनहुँको भानु नगरपालिका–१, २, ३ र ४ वडामा बढी चितुवा प्रभावित क्षेत्रमा पर्दछ । यहाँ विगत तीन वर्षदेखि चितुवाको आतंक छ । भानुबाहेक आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिका क्षेत्रमा पनि चितुवाले बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको छ ।

अहिलेसम्म स्थानीयले सात वटा चितुवालाई खोरमा पारेका छन् । बुधबार राती मारिएको सहित यस क्षेत्रमा चार वटा चितुवा स्थानीयले मारेका छन् । गएको ३ वैशाखमा तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित लोहीपाखा सामुदायिक वनमा राखिएको फलामे खोरमा चितुवा मृत अवस्थामा फेला परेको हो । खोरमा परेको उक्त चितुवालाई रडले घोचेर मारेको पाइएको छ । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाका विभिन्न १६ स्थानमा खोर निर्माण गरी पासो थापिएको छ । चितुवा र मानवबीचको बढ्दो द्वन्द्व न्यूनीकरणका लागि प्रयास हुँदै आए पनि त्यसले मूर्त रूप पाउन सकेको छैन । जसले गर्दा मानव र वन्यजन्तु दुबैको नोक्सानी भइरहेको छ ।

प्रकाशित : शुक्रबार, बैशाख २६, २०७७०२:०९

कोरोना संकटका बेला अनावश्यक खर्च: करोडौंका उपकरण किन्ने निर्णय गोप्य !