एजेन्सी – खगोलविद्हरूले हालसालै पृथ्वी नजिकको नयाँ ‘ब्ल्याक होल’ फेला पारेका छन्। युरोपेली खगोलविद्हरूले पृथ्वीबाट धेरै नजिकको ब्ल्याक होल फेला पारेका हुन्। चिली स्थित युरोपियन दक्षिणी वेधशालामा रहेको एचआर ६८१९(HR6819) बाट उक्त नयाँ ‘ब्ल्याक होल’ देखिएको हो।
उक्त ‘ब्ल्याक होल’ पृथ्वीबाट धेरै नजिक छ। हाल सम्म फेला परेका मध्ये सबै भन्दा नजिक सो ‘ब्ल्याक होल’ रहेको बताइएको छ। यूरोपीय दक्षिणी वेधशालाका खगोलविद्हरूको अनुसन्धान टोलीले पत्ता लगाएको उक्त ब्ल्याक होल पृथ्वीबाट एक हजार प्रकाश वर्ष टाढा छ। तर, ब्रह्माण्डको मापनमा भने उक्त ब्ल्याक होल हाम्रो छिमेकमा रहेको मान्न सकिन्छ।
युरोपियन दक्षिणी वेधशालाको वेधशालाका खगोलविद् थोमस रिभिनियसका अनुसार यस अगाडी पृथ्वीबाट सबै भन्दा नजिकको ब्ल्याक होल अहिलेको भन्दा ३ गुणा टाढा फेला परेको थियो। लगभग ३ हजार २ सय प्रकाश वर्ष टाढा रहेको उक्त ब्ल्याक होल भन्दा अहिले फेला परेको ब्ल्याक होल धेरै नजिक छ।
एक ताराको नक्षत्रमार्ग असामान्य देखिएपछि अध्ययन गर्दा त्यहाँ ब्ल्याक होलको उपस्थित पाइएको थोमस बताउँछन्। उक्त ताराको नक्षत्रमार्ग असामान्य हुनुको कारण खोतल्दै जाँदा आफूहरुले त्यहाँ ब्ल्याक होल फेला पारेको उनको भनाई छ। उनका अनुसार उक्त ब्ल्याक होल अन्य ब्ल्याक होल जस्तो आक्रामक भने छैन।