कोरोना महामारीमा स्वास्थ्यमन्त्रीलाई हात मिलाउने चटारो, सामाजिक संजालमा बने मजाकको पात्र !

काठमाडौँ – अहिले विश्वभर कोरोना भाइरस संक्रमणको त्रास छ। कोरोना संक्रमणले महामारी रुप लिएसँगै अहिले हात नमिलाउन र सामाजिक दूरी कायम गर्न स्वास्थ्यकर्मीहरु सुझाव दिरहेका छन्। कोरोनाबाट बच्न हात नमिलाउन विश्व स्वास्थ्य संगठनले पनि सुझाव दिएको छ। यहि सुझावका कारण अहिले विश्वभर अभिवादन गर्न नमस्कारको प्रयोग भइरहेको छ।

तर, नेपालका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने हात नमिलाउन विश्व स्वास्थ्य संगठनले दिएको सुझाव नटेर्ने पक्षमा देखिएका छन्। सामाजिक संजालमा भाइरस भएको एक तस्विरले यस्तै देखाउँछ।

सामाजिक संजालमा भाइरल भएको एक तस्विरमा मन्त्री ढकाल कोरोनाको जोखिम प्रति थोरै पनि चिन्तित नभएको देखिन्छ। उक्त तस्विरमा उनी स्विट्जरल्यान्डकी राजदूतसँग हात मिलाउँदै गरेको देखिएका छन्। स्विजरल्यान्ड सरकारले नेपाललाई दिएको कोरोना परीक्षण किट लिन एअरपोर्ट पुगेको समयमा मन्त्री ढकालले स्विट्जरल्यान्डकी राजदूतसँग हात मिलाएका हुन्।

यहि एक तस्विरलाई लिएर सामाजिक संजालमा अहिले ट्रोल तथा मजाक चलिरहेको छ। सँगै सामाजिक संजालमा उनको आलोचना पनि चर्को भइरहेको छ। सर्वसाधारणलाई कोरोना जोखिमका समयमा सुरक्षाका उपाय तर्फ सचेत गराउनुपर्ने मन्त्रीले यस्तो हर्कत प्रति सामाजिक संजालमा धेरैले प्रश्न उठाएका छन्।

हुन त, ट्रोलको विषयमा स्वास्थ्यमन्त्री चोखा व्यक्ति भने होइनन्। यस भन्दा अगाडी पनि कोरोनाकै विषयमा पटक-पटक ट्रोल भइसकेका छन्।

प्रकाशित : शुक्रबार, बैशाख २६, २०७७०६:३१

बिहेको खर्च सामाजिक संस्थालाई, दाइजो मास्क र स्यानिटाइजर !