विज्ञले नै बिगारे अर्थतन्त्र, अर्थमन्त्रीको जागिर मात्रै खाए !

गोपाल सञ्जेल

हुन त अर्थतन्त्रबारे म केही बोल्ने हैसियत राख्ने मान्छे होइन । न विज्ञ न ज्ञाता । अर्थतन्त्रको उपभोक्तका नाताले भनेका कुरा कति सुनुवाइ होलान् र ? मजस्ता बबुरा करौडौँ छन् । तर, यहाँ संसदको बजेट अधिवेशनका संघारमा केही भन्ने धृष्टता गरेँ ।

तत्कालीन अर्थमन्त्री महेश आचार्यले संसदमा बजेट प्रस्तुत गर्दा पञ्चायत कालका अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले चिच्याइचिच्याइ विरोध गरेको सम्झन्छु । त्यसपछि विद्वान अर्थशास्त्री डा. लोहनी पनि त्रिशंकु सरकारका अर्थमन्त्री भए । उनले प्रस्तुत गरेको बजेटप्रति अर्का विद्वान अर्थशास्त्री डा. रामशरण महत त्यसैगरी चिच्याउन पुगे संसदमा । सबभन्दा धेरै पटक अर्थमन्त्री बनेर बजेट प्रस्तुत गर्ने अवसर पाएका भाग्यमानी अर्थमन्त्री डा. महत नै हुन् । अर्थतन्त्रको व्याख्या गर्न उनीजति अब्बल अरु कमै होलान् । तर पनि उनीबाट योचाहिँ उल्लेख्य योगदान हो भन्न सकिने केही पाउन सकिन्नँ । कर्मकाण्ड त धाने तर सिन्को भाँचेनन् । सामान्य नागरिकले अनुभूत गर्ने उपलब्धी उनका केही छैनन् । अर्थमन्त्रीको जागिर मात्रै खाए । बरु अर्थमन्त्रीको जागिरका सिलसिलामा डा. महतले राज्यका ठूला उद्योगहरु अन्धाधुन्द निजीकरण गरेका नमेटिने दाग बोकेका छन् । महेश आचार्यका बजेटमा केही जनमुखी र संस्थागत अवधारण थिए । तर विडम्बना उनले लामो समय अर्थमन्त्रालय संहाल्न पाएनन् । पछि त उनलाई डा. महतकै विद्वताले ओझेल पारिदियो । अवसर दिएनन् वा पाएनन् ।

अर्का विद्वान डा. बाबुराम भट्टाराई पनि छोटो समय अर्थमन्त्री भए । उग्र क्रान्तिकारी जोशमा अर्थमन्त्रालय पसेका डा. भट्टराईले केही उल्लख्य काम त गर्न भ्याएनन् तर सम्झनामा रहने केही काम गरे । मितव्ययीता, करका दायरा फराकिला र केही नयाँ आयाम दिने कोसिस गरे । पछि उनी प्रधानमन्त्री हुँदा त्यसका केही मूर्तरुप देख्न पाइयो । युवास्वरोजगार, सडक विस्तार, राष्ट्रिय गौरवका आयोजना आदि । अर्थमन्त्रीका रुपमा आज नागरिकले सधैँ सम्झीरहने पात्र भने भरतमोहन अधिकारी नै हुन् । उनले यति सरल र सहज रुपमा अर्थतन्त्रलाई आम नागरिकबिच पुर्याए त्यति अब्बल अरु कोही अर्थमन्त्री हुनै सकेनन् । दुईटा कुरा त हो नि अधिकारीका बजेटका मुख्य जोड । कलयाणकारी कार्यक्रम र स्थानीय तहलाई बजेटसहितको अख्तियारी । यो त नेपाली अर्थतन्त्रमा आइसब्रेक नै थियो ।

यतिबेला उनै लोकप्रिय अर्थमन्त्री भरतमोहन अधिकारीका चेला, कार्यकर्ता तर प्रखर विद्वान राजकीय मामिलमा अवसर नै अवसर पाएर पुरिएका डा. युवराज खतिवडा अर्थमन्त्रीको कुर्सीमा विराजमान छन् । निर्वाचन नलडेका, कोटको खल्तीबाट मनोनितमा परेका । राष्ट्रिय योजना आयोगका पटकपटक माननीय सदस्य, योजना आयोगकै उपाध्यक्ष र राष्ट्रबैंक गभर्नर भइसकेका खतिवडा अर्थमन्त्री हुँदा धेरैले अर्थतन्त्रमा निकै सुधार हुने, थिति बस्ने, मजबुती जग हाल्ने आशा गरेका थिए । दुई तहाइ सरकारका अर्थमन्त्री त्यो पनि विज्ञ, विद्वान कहलिएका व्यक्ति नियुक्त हुनु ज्यादै राम्रो मानिनु स्वाभाविकै थियो । जब बजेट प्रस्तुत गरे, नयाँपन केही दिन सकेनन् । तै पनि कार्यान्वयन पर्खे झन् घोर निराश हुनुपर्यो ।

निष्कर्षमा यति भन्न कर लाग्छ कि यिनी पनि उनै डा. महतकै लाइनमा उभिए । सिन्को नभाँच्ने,अर्थमन्त्रीको जागिर खाने । भरतमोहन अधिकारीको भन्दा अझ उन्नतस्तरले बजेट प्रस्तुत गर्न र कार्यान्वयनमा खरो उत्रिन सक्ने ल्याकत हुँदाहुँदै उनको पदचाप पनि पछ्याउन सक्दैनौ भने तिमीलाई धिक्कार्छन्, तिम्रा मतदाता र आमनागरिकहरुले । बजेट तर्जुमाको पूर्वसन्ध्यामा कम्तीमा पनि तिम्रा नेता स्व. भरतमोहन अधिकारीलाई सम्झ, उनका बजेट भाषण तीन पटक पढ । मनमोहन अधिकारीलाई सय पटक सलाम गर । अनि मात्रै बजेट बक्तव्य लेख्न बस । जेठ १५ गते बजेट भाषण सुनेर तेस्रो पटक निराश हुन नपरोस् !

प्रकाशित : शुक्रबार, बैशाख २६, २०७७१२:४०

मङ्गलबार पुच्छ्रेतारा पृथ्वीको धेरै नजिक आउँदै: यी कार्य नगर्न ज्योतिषहरुको सुझाव !