काठमाडौँ – जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले जनता कोरोना भाइरस संक्रमणबाट आक्रमण भएको समयमा सरकार अर्कै धन्दामा लागेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा बजेट अधिवेशनको पहिलो बैठकमा बोल्ने क्रममा सांसद महतोले कोरोना त्रासमा रहेका जतनाको जीवन रक्षा गर्न छाडेर सरकार पार्टी फुटाउने, कुर्सी जोगाउने र सांसद अ-पह-रण गर्ने खेलमा लागेको आरोप लगाए। पार्टी फुटाउने र कुर्सी जोगाउने भन्दा अरु कुनै कुरामा ध्यान नदिएको भन्दै उनले सरकारको आलोचना गरे।
“जनता त्राहिमाम छन्, उनीहरुलाई राहत चाहिएको छ। सरकार चाहिँ अर्कै धन्दा गरिरहेको छ । पार्टी फोर्ने, सांसद चोर्न अपहरण गर्ने, गराउने के हो यो ?”,उनले भने,”जुन सपना हामीले देखेका थियौं, के सुशासन पायौँ ? के समृद्धि पायौं ? संविधानले पूर्णता पायो ? के खोसिएको अधिकार पायौं ? यो सबै कुरा उठाउँदैनन्। एउटा मात्र प्रश्न र एउटै मात्र माग हो। नेपाली नागरिकको जीवन रक्षा गरिदेउ। यो महामारीको बेलामा जनता जोगाउनु पर्नेमा पद बचाउ र पार्टी फुटाउमा सरकार किन लाग्यो। रातारात किन यो अध्यादेश आयो ?”
पार्टी फोर्न सरकारले ल्याएको अध्यादेश आफूहरुले रातारात पार्टी एकीकरण गरेर असफल बनाइदिएको उनले दावी गरे। यस्तै उनले एकीकरण भइसकेको हुँदा पुनः पार्टी फुटाउने प्रयास गर्न चुनौती पनि दिए।
“हाम्रो पार्टी फोर्न सरप्राइज आएको थियो । हामीले पनि देखाइदियौं रातारात पार्टी एकीकरण गरेर। लौ अब फोर त हाम्रो पार्टी।”,उनले भने।