धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध: काठमाडौँका नाका पनि बन्द !

धादिङ – सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोलाबाट मानिस आवागमनलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।

यसैगरी जिल्ला प्रवेश गर्ने मानिसको आवागमनमा कडाइ गर्दै सवारी सञ्चालनमा पास नभएका सवारीसाधन सञ्चालनमा ल्याइए प्रहरीले नियन्त्रणमा लिइ सङ्क्रमक रोग रोक एन २०२० दफा ३ बमोजिम कारवाही गरिने निर्णय गरिएको छ ।

सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार किसानलाई सिजनअनुसार बाली लगाउन दिने, सरकारले खुला गरेको सबै उद्योगमा काम गर्ने मजदूरको ज्वरो तथा स्वास्थ्य परीक्षण गर्ने र श्रमिक कार्यस्थलमै रहने व्यवस्था मिलउनुपर्ने भएको छ ।

खाद्यान्न औषधि पसललगायतका दैनिक अत्यावश्यक पसल बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन गर्ने र ग्यासलगायतका सामग्रीको सहज आपूर्ति गर्न उद्योगी व्यवसायीलाई निर्देशनसमेत बैठकले दिएको सङ्कट व्यवस्थापन केन्द्रका सदस्यसचिव डा भुवन पैडेलले बताए ।

बन्दाबन्दीले औषधि अभाव

फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) लाई औषधिको अभाव भएको छ । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा नियमित खानुपर्ने औषधि जिल्लामा उपलब्ध नभएपछि उनीहरुलाई समस्या परेको हो ।

मनोसामाजिक समस्या भएका व्यक्तिहरुले औषधि खरिद गर्न नपाएर समस्या भोगिरहेका छन् भने रकम अभावमा समेत उनीहरुले डेढ महिनाको लकडाउनमा औषधि खरिद गर्न नसकेको राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य गुणराज खतिवडाले जानकारी दिए ।

केहीले आफूसँग पैसा नभएर औषधि नपाएको गुनासो गरिरहेका छन् । जिल्लामा मनोसामाजिक औषधि खानुपर्ने अवस्थाका ४०० व्यक्ति रहेका छन् । उनीहरु बन्दाबन्दीले गर्दा समस्या भोगिरहेको उनको भनाइ छ ।

हेमोफेलियासम्बन्धी अपाङ्गता भएका बिरामी सात जना छन् । उनीहरुले नियमित औषधि खानुपर्छ । यसको औषधि काठमाडौँमा मात्र पाइने भएकाले औषधि ल्याउन समस्या भएको छ । वीर अस्पतालमा मात्र औषधि पाइन्छ, तर त्यहाँ पनि पाउन पहिल्यै नाम दर्ता गराउनुपर्ने हुन्छ ।

स्पाइनल कर्ड इन्जुरी भएका बिरामीको सङ्ख्या पनि जिल्लामा ३० भन्दा बढी छ । उनीहरुलाई सहायक सामग्री चाहिन्छ । दिसापिसाब गर्ने सामग्रीसमेत आवश्यक पर्ने र लामो समयसम्म लकडाउन भएका कारण अपाङ्गता भएका व्यक्ति समस्यमा परेका हुन् । बौद्धिक अपाङ्गता भएकाले समेत औषधि खानुपर्ने र उनीहरुले खाने औषधि निश्चित ठाउँमा मात्र पाउने भएकाले अपाङ्गता भएकाहरुले विपद्का बेलासमेत समस्या भोग्न बाध्य भएको समस्या भोगिरहेका शिव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : शुक्रबार, बैशाख २६, २०७७१३:०३

आइतबारदेखि खुल्ने भए बैंक तथा वित्तीय संस्थाका सबै शाखा !