फेरी १ जनामा कोरोना, १०२ पुग्यो सङ्क्रमितको सङ्ख्या!

आज थप एक जनामा पुनः कोभिड १९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा नेपालगञ्जका १६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको बताउनुभयो ।

योसँगै सङ्क्रमितको सङ्ख्या १०२ पुगेको छ । सङ्क्रमित मध्ये ७४ पुरुष र २८ महिला रहेका छन् । नेपालगञ्जमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा ३०, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २७ र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन् ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा देवकोटा अनुसार आज कोशी अञ्चल अस्पतालमा उपचाररत आठ जना स्वस्थ्य भएर घर फर्किएका छन् । तिनीहरुमध्ये पाँच जना १७ औ  र तीन जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । अहिलेसम्म ३० जना स्वस्थ्य भएर घर फर्किसकेका छन् ।

यस्तै हालसम्म पिसिआर प्रविधिबाट १५ हजार ४९२ तथा आरडिटी प्रविधिबाट ५४ हजार ५३१ को परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८५९ वटा परीक्षण भएका छन् । प्रदेश नं १ मा छ हजार ८९९ प्रदेश नंं २ मा पाँच हजार ६५६, वाग्मती प्रदेशमा नौ हजार ६०, गण्डकी प्रदेशमा छ हजार ३७७, प्रदेश नं ५ मा छ हजार ९९, कर्णाली प्रदेशमा छ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६१४ को परीक्षण गारिएको छ ।

क्वारेन्टाइनमा १५ हजार ६२४ रहेका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । प्रदेश नं १ मा एक हजार ६४५, प्रदेश नंं २ मा एक हजार २९१, वाग्मती प्रदेशमा २७२, गण्डकी प्रदेशमा ५११, प्रदेश नं ५ मा पाँच हजार ८०७ कर्णाली प्रदेशमा दुई हजार ७०५ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ३९३ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी १३५ जना रहेका छन् । काठमाडौँमा तीन जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १३२ जना रहेका छन् । यसैगरी आज एक जना रेडजोनमा सहित अहिलेसम्म ३३६ जना रहेका छन् ।

प्रकाशित : शुक्रबार, बैशाख २६, २०७७१३:२८

दक्षिण कोरियामा फेरी कोरोनाको कालो बादल: क्लव र बारहरू बन्द गर्नेे घोषणा !