दक्षिण कोरियामा फेरी कोरोनाको कालो बादल: क्लव र बारहरू बन्द गर्नेे घोषणा !

एजेन्सी – दक्षिण कोरियाका क्लव र बारहरू फेरि बन्द गर्नेे घोषणा गरिएको छ । दक्षिण कोरियाको सरकारले आगामी एक महिनासम्मका लागि क्लव र बारहरु बन्द गर्ने घोषणा शुक्रबार गरेको हो । कोरोनाभाइरसको सङ्क्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको दक्षिण कोरियामा पुनः सङ्क्रमितहरु देखिन थालेपछि सतर्कता बढाउन थालिएको जनाइएको छ ।

स्थानीय समय अनुसार आज बेलुका ८ बजेदेखि एक महिनाका लागि ती व्यापारिक प्रतिष्ठानहरु आफै बन्द गर्न आग्रह गरिएको योन्हप समाचार संस्थाले दक्षिण कोरियाली अधिकारीहरूलाई उद्धृत गरी जानकारी गराएको छ । सरकारले अन्य क्षेत्रमा पनि थप कडाई गर्न र आवतजावत गर्नेहरुको लगत राख्ने योजना पनि बनाएको बताएको छ ।

दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण पहिले नियन्त्रणमा राख्न सकिएको समाचारहरू आएका थिए तर फेरि नयाँ सङ्क्रमितहरु देखिन थालेकोले रात्रिक्लब तथा बारहरूलाई बन्द गर्ने घोषणा सरकारले गरेको हो । स्वास्थ्य अधिकारीहरुका अनुसार हालै २९ वर्षीय एक व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ती व्यक्ति विभिन्न क्लवहरुमा गएर फर्केपछि सङ्क्रमण भएको पाइएको छ ।

कोरियाको रोग नियन्त्रण तथा न्यूनिकरण केन्द्रले शुक्रबार १४ जना नयाँ सङ्क्रमित भेटिएको जानकारी दिएको छ । सङ्क्रमित भएकामध्ये तीन जना विदेशी नागरिक र एक जना सैनिक रहेको केन्द्रले जनाएको छ । विरामी सवै १९ देखि ३७ वर्षसम्मका रहेको अधिकारीहरुको भनाइ छ ।

मास्क लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरुप्रति बेवास्ता गर्दै रात्रि जीवनमा रमाएका बेला उनीहरु सङ्क्रमित भएको बताइएको छ । दक्षिण कोरियामा पछिल्लो केही समय कोराना भाइरसबाट सङ्क्रमित नयाँ विरामीहरु देखिएका थिएनन् । तर फेरी नयाँ सङ्क्रमितहरु देखिन थालेपछि सामाजिक दूरी कायम गर्न, क्वारेन्टाइनलाई ख्याल गर्न र आधारभूत स्वास्थ्य सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ ।

प्रकाशित : शुक्रबार, बैशाख २६, २०७७१४:०५

नेपालगञ्जको एकै टोलमा २३ जना कोरोना भाइरस संक्रमित !