कोरोना जित्नेको सख्या बढ्दै: कोरोनामुक्त भयो सूदुरपश्चिम !

काठमाडौं । कोरोना संक्रमितको सख्या बढ्दै गएपनि यसलाई जित्नेको सख्या पनि उल्लेख्य हुन थालेको छ । शुक्रबार अपरान्हसम्म कुल १०२ संक्रमितमध्ये ३१ जना निको भएर घर फर्किएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

शुक्रबारमात्रै नेपालगञ्जमा थप एक जनामा संक्रमण भेटिदा ९ जना कोरोनालाई जितेर घर फर्किएका हुन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले शुक्रबार गरेको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा नेपालगञ्जका १६ वर्षीय पुरुषमा संक्रमण देखिएको बताए । हालसम्म संक्रमितमध्ये ७४ पुरुष र २८ महिला रहेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका २८ जना कोरोना संक्रमित बिरामीमध्ये उपचारपछि शुक्रबार थप आठ जना कोशी अस्पताल विराटनगरबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा एकजना भारतीय नागरिकसहित सात जना भुल्केका स्थानीय नागरिक रहेका स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । उनीहरुलाई यही वैशाख ८ गतेको स्वाब नमूना परीक्षणपछि कोरोना संक्रमण भएको पुष्टि भएपछि उपचारका लागि कोशी अस्पताल विराटनगर लगेर उपचारमा राखिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताए ।

संक्रमितको सख्या १०२ पुग्यो, ३१ जना कोरोनामुक्त भएर घर फर्किए

उपचारपछि उनीहरुमा पटक–पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएका कारण शुक्रबार अस्पतालले उनिहरुलाई डिस्चार्ज गरेको कोशी अस्पताल विराटनगरलाई उदृढ गर्दै स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले बताए । अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई केही दिनका लागि विराटनगरस्थित रानी मस्जिदको क्वारेन्टाइनमा राखिन लगिएको पनि स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

तीन दिनअघि पनि भुल्केमा संक्रमित बनेका छ जना भारतीय नागरिकलाई कोशी अस्पतालले कोरोना संक्रमण भएर उपचार गराई उपचारपछि रिपोर्ट नेगेटिभ आएका कारण अस्पतालबाट डिस्चार्ज गरेको थियो । अब भुल्केका २८ कोरोना संक्रमितमध्ये १४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेकाले बाँकी १४ को भने उपचार भइरहेको बताइएको छ ।

सूदुरपश्चिम कोरोनामुक्त
धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएपछि सूदुरपश्चिम कोरोनामुक्त भएको छ । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

३५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीया महिलाको छ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

उनीसँगै भर्ना भएका दुईजना, केही समयअघि भर्ना भएका एकजना र उनीभन्दा पछाडि भर्ना भएका एकजना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा पाँचजनामा कोरोना देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन् । लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ की महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए ।

प्रकाशित : शनिबार, बैशाख २७, २०७७०२:१२

कोरोना जोखिममा नेपालगञ्ज: सिलबन्दीसँगै स्वाब परीक्षण तीव्र !