काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले नेपाली भूमि अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेको विषयमा टिप्पणी गर्दै राज्य संयन्त्र माथि नै प्रश्न गरेका छन्।
थापाले सामाजिक संजाल मार्फत नेपाली भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने कस्तो राज्य संयन्त्र? भनेर प्रश्न गरेका हुन्।
“परराष्ट्रमन्त्रीज्यू, हाम्रो भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने हाम्रो कस्तो राज्य संयन्त्र?”,सामाजिक संजाल मार्फत परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई उनले प्रश्न छ।
गत वर्ष भारतले नेपाली भूमि कालापानी-लिपुलेक लगायतका क्षेत्र समावेश गर्दै नक्सा सार्वजनिक गरेपछि सही र सशक्त प्रतिवाद गर्न नसकेको कारण भारतले सडक निर्णय गरेको थापाको बुझाई छ।
“नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम हो यो। अब पनि जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने?”,थापाको प्रश्न छ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको शुक्रबार उद्घाटन गरेका थिए। कैलाश मानसरोवर जोड्ने गरी निर्माण गरिएको बहुप्रतिष्ठित सडकको भिडियो कन्फ्रेन्समार्फत रक्षामन्त्री सिंहले उद्घाटन गरेका हुन्।
नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि विरोधसमेत भइरहेको छ ।
चीनको सीमा क्षेत्रसम्म निर्माण गरिएको यो सडक व्यापारिक दृष्टिकोणले समेत प्रभावकारी भएको बताइएको छ । यसअघि भारतको तावाघाटदेखि व्यापारी र स्थानीयवासीले खच्चर र भरियामार्फत सामान ढुवानी हुँदै आएको थियो । अब सडक निर्माणसँगै व्यापारीले पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरिएको छ ।
भारतीय व्यापारीले चीनको सामान आयातनिर्यातका लागि तावाघाटबाट गुञ्जीसम्म पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । यसअघि धार्चुलादेखि गर्वाधारसम्म ४५ किलोमिटर दूरीमा मात्र सवारीसाधन चल्ने गरेको थियो । त्यसभन्दा माथिल्लो क्षेत्रमा व्यापारी र सर्वसाधारणको पैदलयात्रा तय गर्नुपर्ने बाध्यता थियो ।