“भारत विरुद्ध अहिले नै अन्तर्राष्ट्रिय जाने समय भइसकेको छैन, पहिला राम्रोसँग सोचौं” – प्रचण्ड

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विषयमा चीनसँग पनि वार्ता गर्नुपर्ने बताएका छन्।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गर्ने भारतीय कदम त्रिदेशीय मुद्दा भएकाले भारतसँग मात्र नभई चीनसंग पनि वार्ता गर्नुपर्ने बताए।

नेपाली भूमिमा हुने क्रियाकलापबाट भारतमात्र नभइ चीन पनि पछि हट्नुपर्ने हुँदा यस समस्या समाधानका लागि त्रिदेशीय वार्ता हुनुपर्ने प्रचण्डको भनाई छ। नेपाली भूमिमा चीन र भारतको सहमतिबाट व्यापारिक उद्देश्यले सडक खुलाइएको हुँदा त्रिदेशीय वार्तामा केन्द्रित हुनुपर्ने उनले बताए।

यस्तै प्रचण्डले नेपाली भूमिमा भारतले सडक निर्माण गरेको विषयलाई लिएर प्रधानमन्त्री ओलीसँग पनि छलफल गरिसकेको जानकारी गराए। छलफलका क्रममा आफूले ओलीले यस विषयलाई गम्भीरतापूर्वक लिएर कदम चाल्न आग्रह गरेको प्रचण्डको भनाई छ।

“नेपाली भूमिमा हुने क्रियाकलापबाट भारतमात्र नभइ चीन पनि पछि हट्नुपर्छ र यो समस्या समाधानका लागि त्रिदेशीय वार्ता गर्नुपर्छ”,उनले भने,”यो बेला पनि यस विषयलाई गम्भीर रुपमा लिएर पहल गरिएन भने हामी चुक्छौं, ठोस पहल गर्नुपर्छ भनेर मैले प्रधानमन्त्रीलाई भनें र त्यसपछि पार्टीका तर्फबाट वक्तव्य पनि निकाल्यौं।”

सांसदहरुले यस विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने बताएपनि प्रचण्डले भने तत्कालै त्यसो गरिहाल्नु नपर्ने बताए। अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषय भयो कि भएन भनेर सोच्नुपर्ने प्रचण्डको भनाई थियो।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७०५:३२

“भारतले नेपाललाई मिचेरै जान खोज्यो, यस मुद्दालाई तत्काल अन्तराष्ट्रियकरण गरौँ”