“भारतले नेपाललाई मिचेरै जान खोज्यो, यस मुद्दालाई तत्काल अन्तराष्ट्रियकरण गरौँ”

काठमाडौँ – राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी दुर्गा पौडेलले नेपाली भूमि मिचेर सडक निर्माण गर्ने भारत विरुद्ध अन्तराष्ट्रिय अदालत जानुपर्ने बताएकी छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले भारतको हेपाह प्रवृति विरुद्ध अन्तराष्ट्रिय अदालत जाने समय आइसकेको बताएकी हुन्।

नेपाली भूमिमा भारतले सडक निर्माण गरेको विषयलाई लिएर संसदमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ब्रिफिङ्ग गरेपछि आफ्नो धारणा राख्दै सांसद पौडेलले भारतले नेपाललाई नटेरेको बताइन्।

नेपालले कुटनीतिक नोट पठाएको अवस्थामा भारतले बेवास्ता गर्नुलाई नटेरेको बुझ्नुपर्ने उनको भनाई छ। भारतले नेपाललाई मिचेरै जान खोजेको उनले आरोप पनि लगाइन्। अब यस मुद्दालाई अन्तराष्ट्रियकरण गर्नुको विकल्प नभएको उनले दावी गरिन्।

“नेपालले पठाएको कुटनीतिक नोटको भारतले बेवास्ता गरेको कुरा जाहेर भयो। त्यसकारण भारतले नेपाललाई नटेरेको देखिन्छ, भारतले मिचेरै जान खोजेको देखिन्छ।”,उनले भनिन्,”अबको अवस्थामा यस मुद्दालाई अन्तराष्ट्रियकरण गरेर जानुपर्छ।” साथै उनले यस मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने विषयमा सरकारको धारणा के छ भने प्रश्न पनि गरिन्।

यस्तै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नेपाली भूमि मिचेर भारतले बनाएको सडक अहिले उद्घाटन भएपनि निर्माण हुँदै गर्दा सरकारलाई सूचना थियो कि थिएन भनेर प्रश्न गरे।

“सडक बन्दै थियो भन्ने जानकारी सरकारलाई थिएन भने सरकारको सूचना माध्यम कम्जोर भएको हो?”,उनले प्रश्न गरे। साथै उनले भारतले सडक बनाउँदै गरेको बारे आफूले पहिलानै संसदलाई जानकारी गराएको र मिडियामा समेत बोलेको बताए।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७०६:०६

भारत र चीनका सैनिकबीच झ-डप, दुवै देशका सैनिक घाइते !