काठमाडौँ – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पुष्टि भएका १८ वर्षीय पुरुष लकडाउनको समयमा चितवनबाट हिँडेर सप्तरी पुगेको खुल्न आएको छ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३का ती संक्रमित पुरुष वैशाख ९ गते लकडाउनको समयमा चितवनबाट हिँडेर सप्तरी सम्म पुगेको खुल्न आएको हो।
लकडाउनको समयमा उनी अन्य एक दर्जन व्यक्तिहरु सँगै हिँडेर सप्तरी पुगेका थिए भने उनलाई सप्तरी पुगेपछि कान्तचन्द्र (कच) माविको क्वारेन्टाइनमा राखिएको थियो। उनी चितवनमा मजदुरी गर्दै आएको बताइएको छ। वैशाख २५ गते संकलन गरिएको स्वाब परीक्षण गर्दा सोमबार उनीमा कोरोनाको पुष्टि भएको हो।
कोरोना पुष्टि भएपनि ती युवक अहिले फरार छन्। केही दिनअघि स्वाब संकलन गराएपछि उनी घर फर्केको र कोरोना पुष्टि भएपछि घरमा नभेटिएको प्रहरीले जनाएको छ। उनी र उनको हजुरआमा दुवै घरमा नभेटिएको प्रहरीको भनाई छ।
यस्तै सोमबार बिहान कोरोना पुष्टि भएका कपिलवस्तुका १० जना संक्रमित भने भारतबाट आएको खुलेको छ। भारतको मुम्बईबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना युवामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
आठ युवक वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए । अनिरुद्ध र पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आठ जनामा कोरोना सङ्क्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताए ।