अभियानमा २४३ लाई सेवा उपलब्ध !

काठमाडौँ – लकडाउनका कारण कपाल काट्ने सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’ अभियानमा विभिन्न सञ्चारगृहमा क्रियाशील २४३ लाई सेवा उपलब्ध गराइएको छ ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको समन्वयमा यही वैशाख १७ गतेदेखि सोही परिसरबाट शुरु भएको उक्त कार्यक्रम लकडाउन अवधिभर जारी रहने बताइएको छ ।

संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले लकडाउनका कारण सैलुन बन्द भएपछि सञ्चारकर्मीले कपाल काट्न नपाएको खबर पाएपछि सञ्चार गृहका साथीहरुको अनुरोधमा कार्यालयमै गई कपाल काटेर सहयोग गर्ने अभियान शुरु गरेको बताए।

लकडाउनले अति आवश्यक सेवा क्षेत्र सामान्य सावधानीपूर्वक खुल्ला गरिएको छ भने सैलुनलगायत अन्य क्षेत्रलाई बन्द गरिएकाले त्यसको प्रभाव परेको छ । मिडिया मिसन अनलाइनका कार्यकारी सम्पादक रामहरि बस्नेतले अहिले कोभिड–१९ का त्रासका अवस्थामा समाचार सङ्कलन गर्न अग्रस्थानमा क्रियाशील पत्रकारको स्वास्थ्य बीमा, सुरक्षाका लागि कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरे।

पत्रपत्रिका वितरण थालनी

बन्दाबन्दी खुकुलो पारिएपछि प्रकाशकले पत्रपत्रिकाको प्रकाशन र वितरण शुरु गरेका छन् । कोरोनाको जोखिमले अपर्झट बन्दाबन्दी भएपछि पत्रपत्रिका छापिन सकेका थिएनन् । यस बीचमा प्रकाशकले पत्रिकाको ‘पिडिएफ’ लाई अनलाइन र सामाजिक सञ्जालमार्फत पाठकलाई उपलब्ध गराएका थिए । पत्रिकाको डिजिटल संस्करण पनि प्रभावकारी बनेको थियो ।

बागलुङ र पोखराबाट एकसाथ प्रकाशित हुने ‘ढोरपाटन राष्ट्रिय दैनिक’ आइतबारदेखि पोखरामा पूर्ववतरूपमा वितरण हुन थालेको छ । ढोरपाटन सञ्चार प्रालिद्वारा प्रकाशित उक्त पत्रिका आजदेखि बागलुङ, पर्वत र म्याग्दीमासमेत वितरण हुनेछ ।

“आवश्यक सुरक्षा सावधानी अपनाएर वितरण शुरु गरेका छौँ”, पत्रिकाका सम्पादक हरिनारायण गौतमले भने। बागलुङबाट प्रकाशित ‘धौलागिरि जागरण दैनिक’ को वितरण पनि आइतबारदेखि शुरु भएको छ । प्रकाशक आदर्श सञ्चार सहकारी संस्थाले वितरकलाई अनिवार्य मास्क, सेनिटाइजर र पञ्जा प्रयोग गर्न भनेको छ ।

प्रकाशित : सोमबार, बैशाख २९, २०७७१४:४८

कोरोना संक्रमणको उच्च जोखिममा उपत्यका: भारतीय चालकबाट कोरोना भित्रिने खतरा !