एजेन्सी – कोरोना भाइरस संक्रमणबाट अति प्रभावित मुलुकको सूचीमा भारत दुई स्थान माथि उक्लिएको छ।
पछिल्ला केहि दिनहरुमा दैनिक ३ हजार भन्दा बढी संक्रमित फेला परिरहेको भारतले क्यानाडा र पेरुलाई उछिन्दै कोरोनाबाट अति प्रभावित १२ औं मुलुक बन्न पुगेको हो।
हाल सम्म भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेर ७० हजार ७ सय ६८ पुगेको छ। बितेको २४ घण्टामा मात्रै त्यहाँ ३ हजार ६ सय ७ जना संक्रमित फेला परेका थिए।
भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ९४ पुगेको छ। बितेको २४ घटनामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने केहि कमी आएको छ। बितेको २४ घण्टामा त्यहाँ ८२ जनाले ज्यान गुमाएका छन्।
यस्तै भारतमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २२ हजार ५ सय ४९ पुगेको छ। भारतका विभिन्न अस्पतालमा ४५ हजार ९ सय २५ जनाको उपचार चलिरहेको छ।
पछिल्ला केहि दिनहरुमा दैनिक ३-४ हजार संक्रमित फेला परिरहेको हुँदा भारतले केहि दिनमै संक्रमितको संख्यामा चीनलाई पनि उछिन्ने देखिएको छ। हाल चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार ९ सय १८ छ। बितेको २४ घण्टामा चीनमा १७ जना मात्रै संक्रमित फेला परेका छन्। यस हिसाबले भारतले केहि दिनमै कोरोना संक्रमितको संख्यामा चीनलाई उछिन्ने देखिन्छ।