पर्सामा कोरोना तेस्रो चरणमा प्रवेश गरेको अनुमान, अस्पतालमा बिरामी राख्ने ठाउँ पुगेन !

काठमाडौँ – मंगलबार एकैदिन ३९ जना कोरोना भाइरस (कोभिड- १९०) संक्रमणको पुष्टि भएपछि पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ। एकै दिन ३९ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै पर्सा जिल्लाको विभिन्न ठाउँमा कोरोना पुगेको थाहा हुन आएको छ।

यस अगाडी वीरगन्ज महानगरपालिकामा मात्र कोरोना रहेको अनुमान गरिएपछि मंगलबारको कोरोना पुष्टिले कोरोना वीरगन्ज महानगरपालिका बाहिर पुगेको पनि पुष्टि भएको छ। पहिला वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २, ३ को छपकैया क्षेत्रमा मात्रै कोरोना पुष्टि भएको थियो। मंगलबार वीरगन्ज बाहिर छिपहरमाई गाउँपालिकामा पनि कोरोना पुष्टि भएको छ।

वीरगन्ज स्थित नारायणी अस्पतालमा पर्सा मात्र नभई बारा जिल्लाका संक्रमितको पनि उपचार भैरहेको छ। तर, मंगलबार पर्सा र बारमा ४० जनामा कोरोना पुष्टि भएपछि नारायणी अस्पतालमा आइसोलेशन अभाव हुने देखिएको छ। हाल २९ जनाको उपचार भइरहेको उक्त अस्पतालमा थप ४० जनालाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको छ।

हाल अस्पतालमा ५० वटा आइसोलेसन बेड छन्। मंगलबारको कोरोना पुष्टि सँगै अहिले थप २० वटा आइसोलेसन बेड तयार गर्ने काम भइरहेको छ। अस्पतालमा हिअले २९ जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ।

मंगलबार पर्सामा फेला परेका संक्रमित सबै स्थानीयहरु रहेको हुँदा त्यहाँ थप संक्रमित फेला पर्न सक्ने सम्भावना छ। पर्सामा सामुदायिक स्तरमै कोरोना फैलिएको हुन सक्ने अनुमान गरिएको छ। आउने दिनहरुमा पर्सामा कोरोना परीक्षण ब्यापक रुपमा बढाउनुपर्ने विज्ञहरुले सुझाव पनि दिएका छन्।

प्रकाशित : मङ्गलबार, बैशाख ३०, २०७७१४:३१

सप्तरीबाट ट्रकमा लुकेर आएका व्यक्ति पेप्सीकोलामा भेटिए, हल्लीखल्ली मच्चियो !