एकै दिन ३९ जना संक्रमित भेटिएपछि पर्सामा कर्फ्यु, सेना पनि खटाइयो !

काठमाडौँ – मंगलबार राती ८ बजेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी भएसँगै अब औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक अन्य कुनै पनि प्रयोजनको लागि बाहिर निस्किन पाइने छैन।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्न भनेको छ।

यस्तै पर्सामा कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय पनि भएको छ।

मंगलबार एकैदिन ३९ जना कोरोना भाइरस (कोभिड- १९०) संक्रमणको पुष्टि भएपछि पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ। एकै दिन ३९ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै पर्सा जिल्लाको विभिन्न ठाउँमा कोरोना पुगेको थाहा हुन आएको छ।

यस अगाडी वीरगन्ज महानगरपालिकामा मात्र कोरोना रहेको अनुमान गरिएपछि मंगलबारको कोरोना पुष्टिले कोरोना वीरगन्ज महानगरपालिका बाहिर पुगेको पनि पुष्टि भएको छ। पहिला वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २, ३ को छपकैया क्षेत्रमा मात्रै कोरोना पुष्टि भएको थियो। मंगलबार वीरगन्ज बाहिर छिपहरमाई गाउँपालिकामा पनि कोरोना पुष्टि भएको छ।

प्रकाशित : मङ्गलबार, बैशाख ३०, २०७७१५:३७

महाराष्ट्रमा कोरोनाभाइरसबाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी