काठमाडौँ – उपत्यकामा पुनः कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि काठमाडौँ उपत्यका सिल गर्ने तयारी गरिएको छ। उपत्यका बाहिरबाट आएका तीनजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उपत्यका सिल गर्ने तयारी गरिएको हो।
कोरोना संक्रमण देखिएका तीनै क्षेत्र अहिले सिल गरिसकिएको छ भने काठमाडौँ, भक्तपुर र ललितपुरले जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले तीनै जिल्ला सिल गर्ने तयारी गरिरहेका छन्। उपत्यका सिल गर्ने विषयमा गृह मन्त्रालयले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आवश्यक छलफल गरिरहेको छ।
मंगलबार काठमाडौँ तथा भक्तपुरम कोरोना भाइरस संक्रमणको पुष्टि भएका तीन जना नै लकडाउनमा उपत्यका प्रवेश गरेको खुलेको छ।मंगलबार काठमाडौँमा कोरोना पुष्टि भएकी ३३ वर्षीया महिला, भक्तपुरमा कोरोना पुष्टि भएका २७ वर्षिय पुरुष र २५ वर्षिया महिला तीनै जना लकडाउनमा उपत्यका प्रवेश गरेको पाइएको छ।
बताइएअनुसार, काठमाडौं चन्द्रागिरि नगरपालिका ९ की ३३ वर्षिया महिला कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन्। उनी आइतबार मात्र सवारी पास बनाएर उपत्यका प्रवेश गरेको पाइएको छ। लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी थिइन् ।
यता भक्तपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएका सशस्त्र प्रहरी र स्टार्फ नर्स रहेको खुल्न आएको छ। कोरोना संक्रमण पुष्टि भएका २७ वर्षीय पुरुषको दरवन्दी सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराहीमा रहेको छ।
उनी पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिए व्यक्ति हुन्। उनी एक महिना अघिदेखि घरायसी कामले विदामा बसेको बताइएको छ। रामेछाप स्थायी घर भएका उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका- १ दुवाकोटमा बनाएको घरमा बस्ने गर्दै आएका थिए।
भक्तपुरमै कोरोना पुष्टि भएकी अर्की महिला स्टाफ नर्स रहेको खुलेको छ। उनी भक्तपुरकै एक निजी अस्पतालमा कार्यरत थिइन्। सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी घर भएकी उनी सुनसरीबाट यही वैशाख २९ गते नै काठमाडौं उपत्यका छिरेकी थिइन्।