नक्साको टुङ्गो नलगाउने निरीह राज्य: भूभाग मिच्दै बाटो खनेको वर्षौं हुँदा पनि थाहा पाइनँ भन्ने ?

गोपाल सञ्जेल

यतिबेला नेपाल भारतबिच महाकाली नदी शिरको सीमा विवाद बारे सडक र संसद तातेको छ । विडम्बना त के भने नागरिकहरुले सीमा विवादबारे सरकार, राज्य संयन्त्र, सार्वभौम भनिएको संसदको विश्वसनीयता मान्न सकिरहेका छैनन् । सरकारले चित्तबुझ्दो जवाफ दिएको छैन ।

प्रतिपक्षको दुविधा पनि बुझन् सकिरहेका छैनन् । मूख्य नेता बोल्दैनन् । अरुका गनगन मात्रै हो । सभामुखले रुलिङ गरेकै छैनन् । सरकार प्रमुखले प्रभावकारी कदम चालेका छैनन् । झारा टार्ने कार्यको के अर्थ भो र ? सांसदहरुले कुरो त उठाए तर संसदले सरकारलाई कार्यादेश दिएको छैन । संसदीय समितिहरुमा आआफ्नो दलगत, गुटगत डम्फू मात्रै बजाए । शून्य समयमा रसबिनाका सुख्खा कविता सुनए । कविता बिस्तारै सुन्दै गरौँला मान्यवर ! यतिबेला सार्वभौम संसदको पूरा तागत चाहिएको छ ! त्यो हेर्न र सुन्नँ नागरिकहरु आतुर छन् । केही अराजक पक्षहरु राष्ट्रियताका मामिलामा सडकमा उदण्डता देखाउन उद्दत छन् । तर साँच्चै जो राष्ट्रपे्रमी छन्, सडकबाट सरकारलाई बल दिन चाहन्छन्, उनीहरुलाई सरकार चिन्नँ सकिरहेको छैन । आफ्नो देशका बारेमा शिष्टतापूर्वक बोल्न हरेक नागरिकले बेरोकटोक पाउनुपर्छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पा.डा. द्वय युवराज सङ्ग्रौला र रमेश ढुङ्गेललगायतका भिडियो अन्तर्वार्ता हेर्दा र उहाँहरुका तथ्य र तर्कपूर्ण विचार सुन्दा सीमा विवादबारे हाम्रा कमजोरी केके, छिमेकीका मिचाहा प्रवृत्ति केके हुन् भन्ने विषय हामीजस्ता सामान्य नागरिकहलाई समेत
छर्लङ्गै हुन्छ । हाम्रो देशले जारी गरेका तोडमोड गरेका नक्सा, छिमेकीले मिचेको भूभाग, महाकाली नदीको शिर, सीमाना, लिपुलेक, लिम्पियाधुरा, कालापानीका भूभागबारे कहाँ, के र कस्तो अवस्थामा छ भन्ने कुरो छर्लङ भइसक्यो । अब त कुरो कहाँबाट, कहिलेदेखि र कोकसले केकेसम्म गरेछन् विगतमा भन्नेसम्म पनि छर्लङ्गै भयो । जोजसले जेजे गरेता पनि देश पहिलो कुरो हो । विगतलाई मनन् गर्ने हो । पहिला त देश बचाउन पर्यो । राष्ट्रियता जोगाउनुपर्यो । यति कुरो सरकारले बुझ्न र बोल्न ढिला गरिनुहुन्नँ । बरिष्ठ पत्रकार भैरब रिसालले २०१८ सालमा त्यहीँ पुगेर जनगणना गरेको कुरो आफू ज्युँदै छु भनेर हुँकार गरिरहेछन् । तै पनि सरकार चित्तबुझ्दो जवाफ दिन, यसका कुटनीतिक प्रक्रिया अनुभूत हुने गरी थाल्न, अल्पकालीन र दीर्घकालीन समाधान बारे बोलिरहेको छैन । मिचाहा छिमेकीले सीमा मिचेको अहिले होइन, हेपेको धेरै भो । झेल गरेको पनि उहिलैदेखि हो भनेर राज्यले सुख पाउँदैन । विगतका सरकारलाई दोष दिएर अहिलेको सरकार पन्छिन पाउँदैन । विगत ३० वर्षदेखि संसदम निरन्तर यिनै दल र यिनै अनुहार छन् । कहिले सत्तापक्ष त कहिले प्रतिपक्ष । जतिबेला जो सत्तामा छ उसैको जिम्मेवारी हो । कर्तव्य हो । भारत हामीलाई मात्रै होइन छिमेकी सबैलाई हेप्छ, पेल्छ, मिच्छ । तर ऊ असनको साँढे होइन । साँढे तह लगाउने कार्य भएकै छैन । सानो छौँ, गरिब छौँ भन्दैमा हेपिएर, दबिएर, पेलिएर सम्बन्ध राम्रो हुनुपर्छ भन्ने मान्यता कीमार्थ हुनुहुन्नँ । स्वाभिमान राखेरै असल सम्बन्ध बनाउनु पर्छ ।

भूभाग मिच्दै बाटो खनेको वर्षैँ भइसके छ । सार्वजनिक रुपमै थाहा छैन भन्दा सरकार प्रमुखको गरिमा गिर्छ । राज्यसंयन्त्र असफल भएको अर्थ लाग्छ । पक्ष वा प्रतिपक्षका बाहालवाला वा विगतका मन्त्री, सांसद, उच्चतहका नेताहरु समेत यतिबेला आफ्नो स्वार्थमै बोलेको देख्दा उदेक लाग्छ । बिचरा, कठैबरा मन लाग्छ । तिमीहरुप्रति नागरिकहरुको आक्रोश पनि यसैमा हो । हिजो ध्यान पुगेन, गरिएन, मन लागेन, डर लाग्यो । स्वार्थ पालिएको थियो आदि जेजे हो त्यही भनिदिए हुन्छ ! अब त्यो छुपेको पनि छैन । जोजसले जे गरेका थियौ, छातीमा हात राख्दै मम भन्दै देशका लागि सामुहिक माफी माग्नुपर्छ । जनताजनार्दनका सामु माफी माग्दा कसैको कद घट्दैन बरु बढ्छ । अब मुलुकको हित चिताउने विश्वसनीय शपथ खानुपर्छ !

हाम्रा जहाँतहीँका भूभागहरु रणनीतिक महत्वका छन् । यसका अनेक आयाम होलान् । छिमेकीसँग हाराहारीमा रहेर ठाडो शिरले बोल्न, मुलुक र नागरिकप्रति जिम्मेवारी लिन दुविधा पाल्नुपर्ने कुनै कारण छैन । पक्ष वा प्रतिपक्ष जो कोहीले पहल गर्दा हुन्छ । यो देशको मामिलो हो ।
माटोको मामिलो हो । एक जना शीर्ष नेताले सीमानामा काँडेतार वा पर्खाल लगाउने कुरो बोलेछन् । कुरो राम्रा हो तर उनको तहबाट विषय
उठान गरेर मात्रै पुग्दैन । निष्कर्षमा पुर्याउन विश्वासनीय पहल गर्नुपर्छ । विज्ञ, विशेषज्ञहरुको सहयोग लिनुपर्छ । दीघकालीन समाधानका लागि हामी लाग्यौँ भनेर आस्वस्त पार्नुपर्छ । हामीलाई हाम्रो मुलुकको सग्लो नक्सा देऊ । सग्लो नक्सा छाप्न दुई दिन पनि खर्खिनुपर्दैन । एक थान सग्लो नक्सा पनि पाउन नसक्ने निरिह नागरिक भएर बस्न कद्दापि सकन्नँ । पुर्खाले रगत दिएर जोगाएको र आर्जेको माटो एक मुठी पनि तलमाथि हुन नदेऊ । राज्यका शक्तिले धानेन भने जनता गुहार ! हामी मिचाहा साँढे धपाउन वा अटेर गरे सुमर्न सक्षम छौँ । यही सन्देश देऊ मिचाहा छिमेकी साँढेलाई । हामी नागरिकले खोजेको यत्ति हो ।

प्रकाशित : बुधबार, बैशाख ३१, २०७७११:१७

विज्ञ भन्छन् – “१५ दिन कर्फ्युजस्तै लकडाउन गरौँ”